बिहिबार, माघ २३, २०८२

राप्ती गाउँपालिकाकाे अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, सेवामैत्री बन्ने प्रतिबद्धता

देउखुरी । दाङको राप्ती गाउँपालिकाले नागरिक सेवालाई सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता जनाएको छ ।

गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले राप्तीवासीलाई सहज सेवा दिनु र यस क्षेत्रको विकास गर्नु नै आफूहरुको एकमात्र लक्ष्य रहेको उल्लेख गर्दै गाउँपालिका तथा वडा कार्यालयबाट प्रवाह गर्ने सेवालाई सहज, सुलभ र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका हुन् ।

साेमबार सिसहनियामा गाउँपालिकाको अर्धवार्षिक तथा दाेस्राे चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाको समृद्धि, विकास र नागरिकहरुको सेवामा गाउँपालिका निरन्तर लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

‘काम गर्दा ढिलो चाँडो हुन्छ नै तर राप्तीवासीको सेवामा हामी निरन्तर लागेका छौं’– अध्यक्ष विष्टले भन्नुभयो– ‘राप्तीवासीको रचनात्मक सल्लाह, सुझाव र खबरदारी पनि निरन्तर भइरहोस् ।’

सार्वजनिक सुनवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले अर्धवार्षिक तथा दाेस्राे चौमासिकमा गाउँपालिकाले गरेका काम र प्रगति प्रस्तुत गर्नुभएको थियो भने अग्रिम साप्ताहिकका दिपक बाेहाेराले गाउँपालिकाले प्रवाह गर्ने सेवामा नागरिकको धारणा समेटिएको सर्वेक्षण रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत प्रगति विवरण र नागरिक चासोका विषयमा उपस्थित राप्तीवासीहरुले राप्ती गाउँपालिकालाई सुझाव दिएका थिए ।

उनीहरुले गाउँपालिकाको बेरुजु रकम शुन्यमा झार्नुपर्ने, कृषि अनुदान तथा लक्षित वर्गको कार्यक्रम प्रभावकारी बनाउनुपर्ने, गुणस्तरीय सडक निर्माण गर्नुपर्ने, खानेपानी सहितका अधुरा आयोजनाहरु पुरा गर्नु पर्ने लगायतका गुनासा गर्दै शिक्षा, स्वास्थ्यमा भएका राम्रा कामको प्रशंसा पनि गरेका थिए ।

उठेका सवालमा प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले जवाफ दिदै नागरिक सेवा सबल बनाउन सेवाग्राहीलाई समेत भूमिका खेल्न आग्रह गर्नुभएको थियो । उहाँले थुप्रै काम भएको र केही चाहँदा चाहँदै पनि नीति, विधिका अप्ठेराले समस्या परेको भन्दै समग्र राप्तीको विकासका लागि गाउँपालिकाले भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation