सोमवार, जेष्ठ २५, २०८३

कालीका सामुदायिक वनको २६औँ साधारणसभा तथा १५औँ अधिवेशन सम्पन्न, अध्यक्षमा गुरुङ सर्वसम्मत चयन

देउखुरी ५ जेठ । कालीका सामुदायिक वन उपभोक्ता समूह, देउखुरी दाङको २६औँ वार्षिक साधारणसभा तथा १५औँ अधिवेशन सम्पन्न भएको छ ।

राप्ती गाउँपालिका २ स्थित महिला सामुदायिक भवन, लालमटियामा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत तथा निर्विरोध रूपमा चयन गरिएको हो ।

समितिका अध्यक्ष जोहरमान मियाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती गाउँपालिका २ का वडा अध्यक्ष पहलवान चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि चौधरीले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो ।

कार्यक्रममा समितिका उपाध्यक्ष भिमलाल न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने अध्यक्ष जोहरमान मियाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी सचिव कृष्णा पोखरेलले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष यमबहादुर रोका मगरले आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

पशुवृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रका संयोजक शिव राना मगरले केन्द्रको वार्षिक आय–व्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा तथा सुपरिवेक्षण समितिका संयोजक भिमकान्त भुसालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सल्लाहकार रमेशमान गुरुङ, रामजहदी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराज सुवेदी, राप्ती सामुदायिक वन महासंघकी कोषाध्यक्ष निर्मला के.सी. रोका तथा करम्दी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टुमबहादुर घर्ती मगरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अधिवेशनका लागि गठित निर्वाचन मण्डलमा संयोजक पहलवान चौधरी तथा सदस्यहरू डिलाराम पौडेल र मालिका आचार्य रहनुभएको थियो ।

अधिवेशनबाट खुमबहादुर गुरुङ अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा शिव राना मगर, सचिवमा कृष्णा पोखरेल तथा कोषाध्यक्षमा यमबहादुर रोका मगर निर्वाचित हुनुभएको छ । सदस्यहरूमा मुक्तिराम पौडेल, बसन्ता आचार्य अधिकारी, लालमणी भुसाल, कुमकला रेस्मी, चन्द्रकली कुमाल, लिलामणी पोखरेल, हेमराज अधिकारी, विजय ज्ञवाली, विनिता कुमाल, लक्ष्मी परियार र दुलारानी चौधरी निर्वाचित हुनुभएको छ ।

कार्यक्रममा विभिन्न संघ–संस्था, बुद्धिजीवी, सल्लाहकार तथा उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । खुला सत्र तथा समिति विघटनको घोषणा अध्यक्ष जोहरमान मियाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव कृष्णा पोखरेलले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation