बिहिबार, बैशाख २४, २०८३

रोटरी क्लब अफ दाङद्वारा राप्ती आधारभूत अस्पताललाई २३ लाख बराबरको ल्याब उपकरण सहयोग

सिसहनियाँ २४ बैशाख । दाङको राप्ती गाउँपालिका–५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीलाई रोटरी क्लब अफ दाङले करिब २३ लाख रुपैयाँ बराबरका हस्पिटल ल्याब उपकरण हस्तान्तरण गरेको छ ।

क्लबका अध्यक्ष रोशन दाहालले बिहीबार राप्ती गाउँपालिकाका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्ट र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एमडिजिपी डाक्टर सुशील केसी लाई उक्त उपकरण हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण गरिएका सामग्रीमा फुल्ली एनालाइजर तथा थाइराइड क्लियर मेसिन लगायतका ल्याब उपकरण रहेका छन् ।

ती उपकरणले अस्पतालबाट प्रदान गरिने प्रयोगशाला सेवा थप प्रभावकारी बन्नुका साथै बिरामीहरुलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, वडा नम्बर ५ का अध्यक्ष देवप्रसाद चौधरी, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, अस्पतालका प्रशासन प्रमुख पृथ्वी पौडेल, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी अधिकारी, राप्ती चेम्बर अफ कमर्सका प्रथम उपाध्यक्ष विष्णुप्रसाद सुवेदी, समाजसेवी तथा रोटरी क्लब अफ दाङका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा बोल्दै अध्यक्ष विष्टले रोटरी क्लब अफ दाङले स्वास्थ्य क्षेत्रको विकासमा पु¥याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले प्राप्त उपकरणले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

क्लबका अध्यक्ष दाहालले सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले उपकरण सहयोग गरिएको बताउनुभयो ।

उहाँले स्थानीय नागरिकले आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ सहयोग गरिएको उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation