मङ्लबार, कार्तिक १९, २०८२

राप्ती ३ को उदाहरणीय अभ्यास : योजना भुक्तानी अघि उजुरी दिन आग्रह

मसुरीया १२ चैत । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ३ ले योजना कार्यान्वयनमा पारदर्शिता र जवाफदेहिता कायम राख्न नयाँ अभ्यास सुरु गरेको छ ।

वडाले कुनै पनि योजना भुक्तानी अघि सो योजना सम्बन्धमा कुनै गुनासो, सुझाव वा उजुरी भएमा तीन दिनभित्र लिखित रूपमा वडा कार्यालयमा पेश गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ ।

वडा अध्यक्ष उमेश अधिकारीले योजना कार्यान्वयनलाई थप पारदर्शी बनाउने र स्थानीय नागरिकलाई योजना प्रक्रियामा सहभागी गराउने उद्देश्य यस्तो अभ्यास सुरु गरिएको बताउनुभयो ।

“हामीले विकास योजनामा सबैको विश्वास कायम राख्न र योजना कार्यान्वयनलाई जनउत्तरदायी बनाउन वडा समितिकाे निर्णय अनुसार यस प्रकारको अभ्यास सुरु गरेका हौं,” अध्यक्ष अधिकारीले भन्नुभयो ।

वडाका सचिव शेर बहादुर हमालले योजना कार्यान्वयनमा देखिन सक्ने सम्भावित असन्तोष वा विवादलाई रोक्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँका अनुसार, तीन दिनभित्र कुनै उजुरी वा गुनासो प्राप्त नभएमा मात्र योजनाको भुक्तानी प्रक्रिया अघि बढाइने छ ।

वडा कार्यालयले यस सम्बन्धमा सूचना जारी गर्दै कुनै पनि नागरिक वा सरोकारवालालाई गुनासो भए समयमै दाबी–विरोध दर्ता गर्न आग्रह गरेको छ । यसले विकास योजनामा हुने अनियमितता न्यूनीकरण गर्दै योजनाको प्रभावकारितामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation