भालुवाङ २७ वैशाख । दाङको देउखुरीमा बिदाको दिन सरकारी गाडीको दुरुपयोग रोक्न राप्ती प्रेस मञ्चले सडक रिपोर्टिङ सुरु गरेको छ । लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका देउखुरीमा क्रियाशिल पत्रकारहरुको छाता संस्था राप्ती प्रेस मञ्चले सार्वजनिक बिदाको दिन हुने सरकारी गाडीको दुरुपयोग रोक्न सडक रिपोर्टिङ सुरु गरेको हो ।
मञ्चले जिल्ला प्रशासन कार्यालय दाङको समन्वय तथा ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङको बिशेष सहयोगमा शनिबार सरकारी गाडी चेकचाँच गर्ने देखि नियन्त्रणमा लिने सम्मको कार्य सम्पन्न भएको छ । अभियानको पहिलो दिन मञ्चले भालुवाङ, पुल्चोक बजारमा ट्राफिक प्रहरी र नेपाल प्रहरीको सहयोगमा सरकारी गाडीहरुको निगरानी गरेको छ । सार्वजनिक बिदाका दिन सरकारी गाडीले सम्बन्धित निकायमा अनुमति लिए नलिएको कागजपत्र सहितको चेक जाँच गरिएको थियो ।
जस मध्ये एउटा मन्त्रालय र एउटा यातायात कार्यालय सहित ५ वटा सवारीसाधनहरुले बिना अनुमति चलाएको भन्दै प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । जसमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको बा २ झ १९४८ नम्बरको स्कारपियो, यातायात व्यवस्था कार्यालय बुटवलको लुम्बिनी ए.ए.ए. ८६९३ नम्बरको मोटरसाइकल र नौमुरे आयोजनाको बागमति प्रदेश ०२००१ ब ४५४२ नम्बरको मोटरसाइकलले सवारी पास नलिईकन चलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिनुभयो ।
यस्तै भालुवाङ पुल्चोक बजारको नेपालगञ्ज सडक खण्डको छेउमा पार्किङ्ग गरिरहेको लु १ झ ४९४ नम्बरको कार र आर्को लुम्बिनी बीएए १२६३ नम्बरको कारले प्रहरीलाई कागजपत्र नदेखाई प्रहरी र पत्रकारको आँखा छलेर भागेका थिए । यस्तै एउटा मोटरसाइकल र एउटा कारले सडकमा पत्रकार र प्रहरीले देखेपछि कागजपत्र नदेखाई भागेका थिए । प्रहरीले नियन्त्रणमा लिएका तीन वटा सरकारी गाडीलाई १ घण्टा आफ्नो नियन्त्रणमा लिई ती सवारीका चालक र सवार व्यक्तिहरुलाई एक पटकलाई सम्झाई बुझाई गरी छोडिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिनुभयो ।
मञ्चको गत बैशाख २१ गते सम्पन्न पूर्ण बैठकले राजधानी क्षेत्रमा हुने सरकारी गाडीको दुरुपयोग रोक्न प्रहरी संगको सहकार्यमा एक्सनमा उत्रिने निर्णय गरेको थियो । सो अनुरुप मञ्चले शनिबारबाट सडक एक्सन शुरु गरेको मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीले जानकारी दिनु भएको छ । राजधानी क्षेत्रमा सार्वजनिक बिदाको दिन सरकारी गाडीको चरम दुरुपयोग बढेको भन्ने व्यापक जनगुनासो बढेपछि हामीले बैठकबाट निर्णय गरी प्रशासन संगको समन्वयमा सडक एक्सन शुरु गरेको बताउनुभयो । उहाँले अब सार्वजनिक बिदाको दिन ठाउँ र समय फरक पारेर प्रहरीको सहयोगमा सरकारी गाडी दुरुपयोगलाई छड्के रिपोर्टिङ गर्ने समेत बताउनुभयो ।
मञ्चले बिहान ७ बजेदेखि १० बजे सम्म भालुवाङ पुल्चोक बजारमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको सहयोगमा सरकारी गाडीको निगरानी गरेको थियो । सो अवसरमा बोल्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरीले बिदाको समयमा गाडी चलाउन परे सम्बन्धित निकाय सँग अनुमति लिएर मात्र गाडी चलाउन सुझाव दिनु भएको छ । बिना काम कसैले पनि सरकारी गाडी चलाउँछ भने कानुन अनुसार कारवाही हुने प्रहरी निरिक्षक ऐरीले बताउनु भयो ।
सडक रिपोर्टिङ कार्यक्रममा मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारी, अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रमुख शेरबहादुर थापा, मञ्चका सल्लारकार जमिर शाह, बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, उपाध्यक्ष बलराम शाही (भिसुन), महासचिव ओमप्रकाश गुप्ता, सचिव देवेन्द्रराज कडेल (श्रीधर), सदस्यहरु बिदुर एमसी, मुक्तिराम पौडेल, लालमणि भुसाल, मोतीराम भट्टराई र सन्तोष थापा लगायतको उपस्थिती रहेको थियो ।











