मङ्लबार, कार्तिक १९, २०८२

राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला

भालुवाङ । दाङको राप्ती गाउँपालिकाले गरेको बजार अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रिएका उपभोग्य सामग्री फेला परेका छन् ।

मंगलबार गरिएको अनुगमनमा खुद्रा, थोक तथा मासु पसलहरूमा बिक्रीका लागि राखिएका केही खाद्य सामग्रीको उपभोग्य अवधि समाप्त भएको पाइएपछि ती सामग्री तत्काल जफत गरी नष्ट गरिएको गाउँपालिकाले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुरको समन्वयमा दुई छुट्टाछुट्टै टाेली द्वारा वडा नं. १, ३, ६, ७ र ८ अन्तर्गतका भित्री गाउँहरूमा सञ्चालनमा रहेका ६५ वटा पसलको अनुगमन गरिएको थियो ।

अनुगमन समितिका सदस्य तथा गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यका अनुसार म्याद सकिएको वा नसकिएको , मूल्य सूची राखेको वा नराखेको, व्यवसाय दर्ता तथा नवीकरण गरेको वा नगरेको, लेबलमा जानकारी उल्लेख भएको वा नभएको जस्ता विषयमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा केही पसलहरूमा मूल्य सूची नराखिएको, व्यवसाय दर्ता तथा नवीकरण नगरिएको पाइएकाले ती पसलहरूलाई एक हप्ताभित्र यस्ता कुराहरु सुधार्न निर्देशन दिइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुरका खाद्य निरीक्षक सुदर्शन गोसाईका अनुसार म्याद गुज्रिएका उपभोग्य वस्तु भेटिएका पसल सञ्चालकहरूलाई पहिलोपटक आगामी दिनमा यस्ता वस्तुहरू बिक्रीवितरण नगर्न सचेत गराइएको छ ।

अनुगमन टोलीमा गाउँपालिकाका कर्मचारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुल्सीपुरका निरीक्षक, नेपाल प्रहरी, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

राप्ती गाउँपालिकाले उपभोक्ताको हित र स्वास्थ्यलाई ध्यानमा राख्दै बजार अनुगमनलाई नियमित रुपमा सञ्चालन गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation