मङ्लबार, कार्तिक १९, २०८२

राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु

भालुबाङ ३१ बैशाख । दाङको राप्ती गाउँपालिकामा किशोरीहरूका लागि डेढ महिने आत्मरक्षा तालिम बुधबारदेखि सुरु भएको छ ।

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आयोजना तथा राप्ती गाउँपालिकाको समन्वयमा तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख गिरीराज पाण्डेको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले किशोरीहरू आत्मनिर्भर, आत्मविश्वासी र सशक्त नागरिकका रूपमा विकास हुन यस्ता तालिमहरू आवश्यक रहेको बताउनुभयो । उहाँले आत्मरक्षा तालिमले आत्मबल वृद्धि गर्ने, डर हटाउने र आफूलाई सुरक्षित राख्न सक्ने क्षमता विकास गराउने उल्लेख गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख गिरीराज पाण्डेले किशोरीहरू विभिन्न सामाजिक चुनौतीको सामना गरिरहेकाले आत्मरक्षा तालिम जस्तै व्यवहारिक सीपले उनीहरूलाई सजग र सुरक्षित बन्न सहयोग गर्ने बताउनुभयो। उहाँले विद्यालयस्तरमै यस्ता कार्यक्रमलाई विस्तार गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

तालिम वडा नं. २ स्थित आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया, वडा नं. ४ स्थित माध्यमिक विद्यालय मौरीघाट र वडा नं. ८ स्थित शंकर माध्यमिक विद्यालय पिपरीमा सञ्चालन हुने जनाइएको छ ।

तालिममा तीनवटै विद्यालयबाट ३०/३० जना गरी ९० जना किशोरीहरूको सहभागिता रहनेछ ।

तालिमकाे प्रशिक्षकमा यमलाल वाग्ले, विष्णा रेश्मी मगर र पवित्रा चौधरी रहनु भएको छ ।

तालिम उद्घाटन कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष तथा माध्यमिक विद्यालय माैरीघाटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर चाैधरी, कार्यपालिका सदस्य रण बहादुर पुजाली, शिक्षा शाखाकी प्राविधिक सहायक देवी मल्ल, शंकर मावि पिपरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद चौधरी, शिक्षक अभिभावक संघका संयोजक गंगाराम चौधरी, मावि मौरीघाटका प्रधानाध्यापक पूर्ण बहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

सामाजिक विकास डिभिजन कार्यालयका अधिकृत पोखर बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण सन्दिप केसीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation