मङ्लबार, कार्तिक १९, २०८२

राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन

मसुरिया १ जेठ । दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन कार्यक्रम गरेको छ ।

गाउँपालिकाले बिहीबार पालिकामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल कार्यक्रम आयोजना गरी सुझाव संकलन गरेको हो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवं पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा उक्त सुझाव संकलन कार्यक्रम सम्पन्न भएको हाे ।

साे अवसरमा बाेल्दै प्रदेश सभा सदस्य थारुले नीतिगत रुपमा गाउँपालिकाले विकासका प्राथमिकता निर्धारण गर्नुपर्ने आवश्यकता औंल्याउँदै उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै जनताको आवश्यकता केन्द्रमा राखेर बजेट निर्माण गर्न सुझाव दिनुभयो । उहाँले नीति निर्माणको प्रक्रियामा सर्वपक्षीय छलफल तथा सुझाव संकलनको संस्कृति विकास हुनु सकारात्मक पक्ष भएको बताउनुभयो ।

छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नागरिकहरूको सल्लाह सुझावलाई एकीकृत गरेर आगामी नीति कार्यक्रममा समेटिने बताउनुभयो । सीमित स्रोत साधनका कारण आफूहरूले सोचेअनुसार विकास गर्न नसकेको अध्यक्ष विष्टको भनाइ थियो ।

अध्यक्ष विष्टले गाउँपालिकाले बजेट निर्माण हुनु अगावै पूर्वबजेट सम्बन्धी सरोकारवाला नागरिकहरूसँग छलफल गर्दा वास्तविक समस्याको पहिचान भई मागको आधारमा भन्दा पनि आवश्यकताको आधारमा बजेट विनियोजन गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो ।

यस्तै, गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले पूर्वबजेट सम्बन्धी छलफलले नीति तथा बजेट निर्माण गर्दा बजेट लक्षित वर्गसम्म पुग्न सहयोग पुग्ने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सहभागीहरूको सल्लाह सुझावअनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गरिने बताउनुभयो ।

छलफलका क्रममा सहभागीहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट न्यूनतम आधारभूत आवश्यकताहरू सहज हुने गरी निर्माण गर्न सुझाव दिएका थिए ।

पालिकाले अन्य क्षेत्रका सरोकारवालासँग पनि निरन्तर छलफल गर्ने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation