मसुरिया ११ जेठ । दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम निर्माण प्रक्रिया अघि बढाउँदै आइतबार शाखा प्रमुखहरूसँग सुझावमूलक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रम नीति निर्माण प्रक्रियाको आधारशिला हुने गरी आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागी शाखा प्रमुखहरूले आ–आफ्ना क्षेत्रका प्राथमिकता, चुनौती र सुधारका सम्भावनाहरू प्रस्तुत गर्दै नीति तथा कार्यक्रमलाई यथार्थपरक, प्रभावकारी र जनउत्तरदायी बनाउन सुझाव दिएका थिए ।
प्रशासकीय अधिकृत पाठकले छलफललाई नीति निर्माणको महत्वपूर्ण चरणको रूपमा उल्लेख गर्दै सबै शाखाहरूको समन्वय र सहभागितामार्फत समावेशी नीति निर्माण गरिने बताउनुभयाे । “शाखा प्रमुखहरूको अनुभव र सुझावले गाउँपालिकाको भावी योजना अझ सुदृढ र प्रभावकारी बन्नेछ,” उहाँले भन्नुभयो ।
छलफलमा शिक्षा, स्वास्थ्य, कृषि, पशु, पूर्वाधार, श्रम तथा राेजगार, सामाजिक विकास, वातावरण, खानेपानी तथा सरसफाइ, महिला तथा जेष्ठ नागरिकजस्ता क्षेत्रमा विशेष छलफल गरिएको थियो ।
छलफलबाट संकलित सुझावहरूलाई आधार बनाई नीति तथा कार्यक्रमको प्रारम्भिक मसौदा तयार पारिने र आगामी गाउँसभा बैठकमा प्रस्तुत गरिने जनाइएको छ ।
यसअघि गाउँपालिकाले विभिन्न क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूसँग समेत परामर्श गरी सुझाव संकलन गरिसकेको छ । पालिकाले अन्य सरोकारवाला पक्ष तथा नागरिकहरूबाट पनि चरणबद्ध रुपमा सुझाव संकलनको प्रक्रिया अघि बढाउने जनाएको छ ।
राप्ती गाउँपालिकाले यसपटकको नीति तथा कार्यक्रमलाई अझ सहभागी, उत्तरदायी र आवश्यकतामा आधारित बनाउने प्रतिबद्धता जनाएको छ ।











