मङ्लबार, कार्तिक १९, २०८२

राप्ती गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मसुरिया १३ जेठ । दाङको राप्ती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाका सबै ९ वटै वडामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्राप्त भएपछि मंगलबार एक कार्यक्रमका बीच औपचारिक रूपमा गाउँपालिकालाई दिगोपना घोषणा गरिएको हो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोर कुमार आचार्यले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको प्रमाणपत्र प्रदान गर्नुभयो ।

स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार, पालिकाभित्र १६ महिनादेखि २३ महिना र २४ देखि ५९ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र लगाउनुपर्ने सम्पूर्ण खाेप लगाइएकोले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

गाउँपालिकाका ९ वटै वडामा गरिएको सर्वेक्षणअनुसार ०-१५ महिनासम्मका ७ सय ८८ जना, १६-२३ महिनाका ६ सय ३३ जना र २४-५९ महिनासम्मका १ हजार २८ जना गरी कुल २ हजार ४ सय ४९ जना बालबालिका रहेका छन् ।

गाउँपालिका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समिति संयोजक प्रकाश विष्टको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले खोप सेवा बालबालिकाको स्वास्थ्य अधिकारसँग जोडिएको महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो । उहाँले पालिकाले सबै वडामा बालबालिकासम्म खोप सेवा पुर्याएर राष्ट्रिय मापदण्ड अनुरूपको कार्य सम्पन्न गरेकोमा प्रशंसा गर्दै यस्तो उपलब्धि सामूहिक प्रयासको परिणाम भएको बताउनुभयो । साथै, आगामी दिनमा अन्य स्वास्थ्य कार्यक्रमहरूमा पनि यस्तै प्रकारको समन्वय र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

त्यसैगरी, गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले खोप बालबालिकाको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सरोकारवालाहरूको अथक मेहनत र प्रतिबद्धताका कारण गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता सम्भव भएको बताउनुभयो ।

सो अवसरमा प्रत्येक वडालाई पूर्ण खाेप सुनिश्चितताकाे प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक,जिल्ला स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोर कुमार आचार्य, विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation