मङ्लबार, कार्तिक १९, २०८२

राप्ती महिला श्रमिक सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न

भालुबाङ १४ जेठ । दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुबाङमा अवस्थित राप्ती महिला श्रमिक सहकारी संस्थाको प्रथम साधारण सभा बुधबार सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष बिस्पुरा घर्ती मगरको अध्यक्षता एवं राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

साधारण सभालाई सम्बोधन गर्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले मेहनत र पेशाप्रतिको लगनशीलताको प्रशंसा गर्दै अहिलेको समय उद्यमशीलताको युग भएको उल्लेख गर्नुभयो । उहाँले राप्ती गाउँपालिकाले उद्यम विकासलाई प्राथमिकतामा राखेको जनाउँदै महिलाहरुले स्थापना गरेका विभिन्न उद्योगहरूमार्फत समृद्धिको बाटो निर्माण भइरहेको बताउनुभयो ।

अध्यक्ष विष्टले सहकारीले उत्पादन गरेको कपडाले पालिकालाई आत्मनिर्भर बनाउन सक्ने सम्भावना रहेको उल्लेख गर्दै स्वदेशी उत्पादनको प्रयोगमा जोड दिनुभयो । “दिगो व्यवसायका लागि धैर्यता अत्यावश्यक छ,” उहाँले भन्नुभयो, “आगामी दिनमा आधुनिक मेसिनमार्फत उत्पादन विस्तार गर्न पालिकाले आवश्यक सहयोग पुर्‍याउनेछ ।”

महिलाहरुको नेतृत्वमा सञ्चालित सहकारी अरु भन्दा फरक र प्रभावकारी हुने उल्लेख गर्दै उहाँले उद्यमशीलतामा आवद्ध हुन चाहने जो–कोहीलाई पालिकाबाट सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नं. १ की वडा सदस्य रञ्जना सुनाम, हरियाली बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष शिवध्वज मल्ल, समाजसेवी भीमप्रकाश पुन, सुरज परियार, नयाँ टोल विकास संस्थाका अध्यक्ष भुमा गुरुङ लगायतले सहकारीको विकासमा एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

संस्थाकी उपाध्यक्ष सुनसरी घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण सचिव इराधा झाँक्री मगरले गर्नुभएको थियो ।

सहकारीले सामूहिक रूपमा हाते तान प्रविधिबाट कपडा उत्पादन गरिरहेको छ, जसलाई भविष्यमा आधुनिक प्रविधिको माध्यमबाट विस्तार गर्ने योजना रहेको संस्थाले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation