सोमवार, कार्तिक १८, २०८२

राप्तीमा ‘संरक्षण’ परियोजनाकाे बारेमा सरोकारवालासँग छलफल

मसुरिया २७ जेठ । दाङको राप्ती गाउँपालिकामा अल्पसंख्यक समुदायको मानवअधिकारमा दिगो पहुँच तथा लोपोन्मुख समुदायको दर्ता (संरक्षण) परियोजनाको बारेमा सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।

मधेश मानव अधिकार गृह (माहुरी होम) काे आयोजना, पिस ब्रीगेड इन्टरनेशनल नेपाल र जिविल फ्रिडेन्सडिन्स्टको सहयोग तथा राप्ती गाउँपालिकाको समन्वयमा मंगलबार मसुरियामा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा परियोजनाको उद्देश्य, कार्यक्षेत्र, रणनीति र अपेक्षित उपलब्धिका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीले पालिकाले सामाजिक न्याय, समावेशी विकास र मानवअधिकार प्रवर्द्धनको पक्षमा निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले अल्पसंख्यक तथा लोपोन्मुख समुदायको उत्थानका लागि पालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।त्यस्तै उहाँले संरक्षण परियोजनाले ती प्रयासलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले पालिकाले परियोजनासँग पूर्ण समन्वय र सहकार्य गर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो । उहाँले विशेषत लक्षित वर्गको यथार्थ अवस्था बुझेर तदनुरूप कार्यक्रम लागू गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।

माहुरी होमका प्रतिनिधि ऋषिराम निगमले परियोजनाको पृष्ठभूमि, उद्देश्य तथा स्थानीय सरकारसँगको सहकार्यबारे प्रस्तुति दिँदै परियोजना पालिकाभित्रको लक्षित समुदायको पहिचान, संरक्षण र अधिकार सुनिश्चित गर्न सहयोगी हुने अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरू, महिला तथा दलित सदस्यहरू, कर्मचारीहरूकाे उपस्थिति रहेको थियो। सहभागीहरूले परियोजनाको कार्यान्वयन प्रक्रिया, प्रभाव र सम्भावित चुनौतीहरूबारे खुला छलफल गर्दै महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation