सोमवार, कार्तिक १८, २०८२

राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको सातौं अधिवेशन सम्पन्न : वार्षिक बजेट, कार्यक्रम सहित विभिन्न विधेयक पारित

मसुरिया १९ असार । दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको सातौं अधिवेशन बिहीबार सम्पन्न भएको छ ।

गाउँसभाको सातौं अधिवेशनअन्तर्गत चौथो बैठकले उपाध्यक्ष कमलापति चौधरीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रमसँगै विभिन्न विधेयक र समितिहरूको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो ।

बैठकले राप्ती गाउँपालिकाको आर्थिक विधेयक, २०८२ तथा विनियोजन विधेयक, २०८२ पारित गर्नुका साथै हालसम्म कार्यपालिकाबाट स्वीकृत निर्णयहरू, श्रोतान्तर र संशोधन आवश्यक योजना प्रस्तावहरूलाई समेत अनुमोदन गरेको छ ।

त्यसैगरी सभाबाट योजना, अनुगमन तथा सुपरीवेक्षण समिति, न्यायिक समिति, सार्वजनिक लेखा समिति, दिगो विकास तथा सुशासन समिति र विधायन समितिद्वारा प्रस्तुत प्रतिवेदनहरू पनि सर्वसम्मत पारित भएका छन् ।

बैठकले गाउँसभा सदस्य स्व. टेकबहादुर राउतको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ ।

सभाले यस अघि असर १० गते गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम समेत सर्वसम्मत रुपमा पारित गरेको थियो ।

सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले नीति तथा बजेटमार्फत आगामी वर्ष गाउँपालिकालाई समावेशी, उत्तरदायी र दिगो विकासतर्फ अघि बढाउने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगार सृजना र सामाजिक सुरक्षालाई बजेटमा प्राथमिकता दिइएको उल्लेख गर्दै पारित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation