सोमवार, कार्तिक १८, २०८२

सोलार मर्मतसँगै थकरीकोटमा खानेपानी सेवा पुनः सुचारु

सिसहनियाँ ८ साउन । दाङको राप्ती गाउँपालिका वडा नं. ५ थकरीकोटमा सोलार पम्प प्रणाली मर्मत भएपछि विगत केही सातादेखि अवरुद्ध भएको खानेपानी सेवा पुनः सुचारु भएको छ ।

गत असार महिनाको अन्तिम सातामा सोलार कन्ट्रोलरमा विद्युत सट भई जलेपछि उक्त सोलार लिफ्टिङ प्रणाली पूर्णरूपमा बन्द भएको थियो । त्यसको कारण गाउँमा खानेपानी आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको थियो ।

राप्ती गाउँपालिकाले समस्या समाधानका लागि आवश्यक कन्ट्रोलर खरिद गरी प्राविधिक टोली पठाएर मर्मत गराएपछि बिहीबारदेखि पुनः खानेपानी सेवा सञ्चालनमा आएको हो ।

स्थानीय निश्चल सारू मगरका अनुसार खानेपानी सेवा बन्द हुँदा स्थानीय बासिन्दाहरूले करिब १ घण्टा हिँडेर टाढाको कुवा तथा खोल्साबाट पानी ल्याउनुपर्ने बाध्यता थियो ।

पालिकाकाे बिकट पहाडी उक्त गाउँमा हाल ६५ घरधुरी छन्, जहाँ करिब २ किलोमिटर टाढा रहेको प्राकृतिक मुहानबाट सोलार प्रविधिको माध्यमबाट लिफ्टिङ गरी खानेपानी पुर्याइएकाे छ ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले खानेपानी जस्तो अत्यावश्यक सेवामा कुनै पनि अवरोध नआओस् भनेर पालिकाले तत्काल मर्मतको व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा यस्ता सेवा निरन्तर चलिरहून् भन्ने उद्देश्यले थप दिगो उपायहरूको योजना निर्माण गरिने बताउनुभयो ।

स्थानीयवासीहरूले समस्या समाधानमा सक्रिय सहयोग पुर्‍याएकोमा गाउँपालिकाप्रति आभार व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation