बिहिबार, अशोज २, २०८२

जनता माध्यमिक विद्यालय करङ्गेकोटको नवनिर्मित भवन उद्घाटन

सिसहनियाँ २ असोज । दाङको राप्ती गाउँपालिका–५ करङ्गेकोटस्थित जनता माध्यमिक विद्यालयमा नवनिर्मित चार कोठे पक्की भवनको उद्घाटन गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत करिब ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनको उद्घाटन गाउँपालिका अध्यक्ष प्रकाश विष्टले गर्नुभएकाे हाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर थापा मगरको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष विष्टले शिक्षाको गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार अनिवार्य हुने बताउनुभयो । उहाँले नयाँ भवनले विद्यार्थीलाई सहज वातावरणमा अध्ययन गर्न सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो ।

अध्यक्ष विष्टले निर्वाचित भएलगत्तै विद्यालयलाई माध्यमिक तह (कक्षा १० सम्म) अध्यापनको अनुमति प्रदान गरिएको स्मरण गर्दै, यसले विकट क्षेत्रमा रहेका विद्यार्थीलाई पढाइका लागि तराई झर्नुपर्ने बाध्यता अन्त्य भएको धारणा राख्नुभयो ।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष देवप्रसाद चौधरी, वडा नं. ९ का अध्यक्ष रिमबहादुर सुनारी मगर, कार्यपालिका सदस्य रणबहादुर पुजाली, वडा सदस्य भुपलाल थापा मगर, निमित्त प्रधानाध्यापक पुरन चौधरी, विद्यालय व्यवस्थापन समितिका सदस्य मनोज दर्लामी मगरलगायतले आफ्ना मन्तव्य व्यक्त गर्नुभएकाे थियो ।

शिक्षिका पुजा राना मगरकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे सहजीकरण शिक्षक पिताम्बर यादवले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation