सोमवार, कार्तिक १८, २०८२

चैतन्य पाठशालामा दशैं–तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

देउखुरी ९ असोज । लुम्बिनी प्रदेश, दाङ देउखुरीस्थित राप्ती गाउँपालिका–३ मौरीघाटमा रहेको चैतन्य पाठशालाले कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका अभिभावकहरूको उपस्थितिमा दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

बालकेन्द्रित र प्रयोगात्मक शिक्षण पद्धतिबाट अभिभावक र विद्यार्थीहरूको मन जित्दै आएको यस विद्यालयमा आयोजना गरिएको कार्यक्रममा बालबालिकाले परियोजना कार्य अन्तर्गत निर्माण गरेका शैक्षिक सामग्री प्रदर्शनी, नृत्य, शुभकामना मन्तव्य लगायतका विविध प्रस्तुति समावेश गरिएका थिए ।

कार्यक्रम विद्यालयका प्रबन्ध निर्देशक डा. जीवराज आचार्यको अध्यक्षता र राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

यसै क्रममा विद्यालयका प्राचार्य सुष्मा रेग्मी आचार्यले शुभकामना मन्तव्य दिँदै कार्यक्रममा भएको गतिविधिको औचित्यता र महत्त्व स्पष्ट पार्नुभयो । अभिभावक सरद शर्मा र निकिता पन्थी बोगटीले विद्यालयको शिक्षण–सिकाइ पद्धति सरल, सहज र व्यवहारिक भएकोले बालबालिका विद्यालय आउँदा खुसी र उत्साहित हुने बताएका थिए ।

मुख्य अतिथि पाठकले विद्यालयको नयाँ र आधुनिक शिक्षण पद्धतिको प्रशंसा गर्दै देउखुरीवासीलाई गुणस्तरीय शिक्षाको लागि बाहिर धाउनु नपर्ने वातावरण यस विद्यालयले सिर्जना गरेको बताउनुभयो । आफ्ना बालबालिका यसै विद्यालयमा अध्ययनरत रहेको अनुभव सुनाउँदै उहाँले विद्यालयले आधुनिक भौतिक र शैक्षिक सुविधा प्रदान गरिरहेकोमा सन्तोष प्रकट गर्नुभयो ।

सभापति डा. जीवराज आचार्यले विद्यालय दोस्रो वर्षमै अभिभावकको मन जित्न सफल भएकोमा आभार व्यक्त गर्दै निरन्तर सहयोग र विश्वासका लागि धन्यवाद ज्ञापन गर्नुभयो । साथै, विद्यालयले भविष्यमा अझ प्रभावकारी रूपमा शैक्षिक यात्रालाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

विद्यालयका सह–प्राचार्य बसन्तराज भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सरस्वती चौधरीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation