
मसुरिया १० असोज । दाङको राप्ती गाउँपालिकाले सरुवा भई आउनु भएकी नयाँ कर्मचारीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ ।
राेल्पाको गंगादेव गाउँपालिकाबाट सरुवा भई आउनुभएकी वरिष्ठ प्रशासन सहायक मुना रिजाललाई गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक सहित जनप्रतिनिधि र कर्मचारीहरूले टीका तथा पुष्पगुच्छा अर्पण गर्दै स्वागत गर्नुभएको हो ।
कार्यक्रममा अध्यक्ष विष्टले नयाँ कर्मचारीको आगमनले सेवाप्रवाहलाई अझ सुदृढ र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पालिकाको समग्र विकासका लागि कर्मचारी, जनप्रतिनिधि र नागरिकबीचको सहकार्य अपरिहार्य हुनेमा जोड दिनुभयो ।
उपाध्यक्ष चौधरीले कर्मचारीहरूको प्रतिबद्धता र निष्ठापूर्ण सेवाबाट पालिकाले लिएका लक्ष्य पूरा हुनेमा आशा व्यक्त गर्नुभयो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत पाठकले सरुवा भएर आएका कर्मचारीको अनुभव, दक्षता र कार्यशैलीले संस्थागत क्षमतामा वृद्धि गर्ने उल्लेख गर्दै गाउँपालिका अझ नागरिकमैत्री र सक्षम संस्थाका रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।