
देउखुरी । लुम्बिनी प्रदेश अन्तर्गत राप्ती गाउँपालिका वडा नं. २ मा पर्ने समृद्धि टोलमा पर्ने बाटो हालसालै मर्मत गरिएको छ । वर्षौंदेखि आवागमनमा कठिनाइ भोग्दै आएका टोलवासीहरूको मागलाई प्राथमिकता दिँदै वडा कार्यालयले ग्राभेल (गिट्टी) राखेर बाटो सुधारको काम सम्पन्न गरेको हो ।
आर्थिक वर्ष २०८२/०८३ को गाउँपालिकाको वार्षिक बजेट अन्तर्गत गरिएको यस कार्यले स्थानीय बासिन्दाको दैनिक जीवन सहज बनाउने अपेक्षा गरिएको छ । विशेष गरी विद्यालय जाने विद्यार्थी, वृद्ध–वृद्धा तथा टोलमा आउने–जाने सवारीसाधनलाई अब सहज रुपमा चल्न सक्ने वातावरण बनेको छ ।
टोलमा हिँडडुल गर्न कठिन भएको अवस्था, वर्षायाममा हिलो र धुलोको समस्या लगायतका चुनौतीलाई दृष्टिगत गरी गरिएको यो मर्मतले स्थानीयस्तरमा विकास र सुविधा विस्तारमा सकारात्मक प्रभाव पार्ने वडा कार्यालयले जनाएको छ ।
यस कार्यप्रति समृद्धि टोल विकास समूह र टोलबासीहरूले राप्ती गाउँपालिका र वडा नं. २ को सक्रिय पहलप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै विकासका कामलाई निरन्तरता दिन आग्रह गरेका छन् ।