भालुबाङ ११ कार्तिक । दाङको राप्ती गाउँपालिकाले स्थानीय माैलिक कला,संस्कृति, परम्परा,भेषभुसा र उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले “स्थानीय खाद्य परिकार प्रदर्शनी तथा देउसीभैलो महोत्सव–२०८२” आयोजना गर्ने भएको छ ।
गाउँपालिकाको आयोजनामा हुने सो कार्यक्रम आगामी कार्तिक १४ गते बिहान ११ बजेदेखि सुरु हुने भएको हो । महोत्सव राप्ती गाउँपालिका–३, मसुरियामा रहेको कृषि हाटबजारको उत्तरतर्फ सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
महोत्सवमा गाउँपालिकाभित्र उत्पादन भएका विभिन्न पोषणयुक्त खाद्य परिकारहरू भुटेको मकै, भट्मास, सिन्की , कोदो/फापरको रोटी, बदाम, तरुल , मासको खरिया, ढिक्री, बटुक, केरा, मेवा, उखु, बधिया भालेलगायतका परिकारहरूको प्रदर्शनी र बिक्रीवितरण गरिनेछ। साथै, स्थानीय माैलिक कला, संस्कृति, भेषभूषा झल्कने देउसीभैलोका विविध सांस्कृतिक प्रस्तुति पनि रहने छ ।
स्थानीय माैलिक कला,संस्कृति, परम्परा,भेषभुसा सँगै पोषणयुक्त खाद्य बस्तुहरुको प्रवर्द्धन गरि आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुर्याउने उदेश्यले साे कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
त्यसैगरी, महोत्सवमा स्टल दर्ता गर्न इच्छुक व्यक्ति, संस्था तथा समूहहरूलाई कार्तिक १२ गतेसम्म दर्ता गर्न आग्रह गरिएको छ ।
स्टल दर्ता तथा थप जानकारीका लागि सुवास भट्टराई (९८४७८५०९८९) वा तुलबहादुर कवँर मगर (९८४७९६९२६८) मा सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले महोत्सवले गाउँपालिकाको मौलिकता, ऐक्यता र सांस्कृतिक गौरवलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।












