मसुरिया २० कार्तिक । पूर्ण सरसफाइयुक्त गाउँपालिका निर्माणको लक्ष्यसहित दाङको राप्ती गाउँपालिकाले ‘सरसफाइ डिजिटल अवार्ड’ सञ्चालन गर्ने भएको छ । फोहोर व्यवस्थापनमा सुधार ल्याउने, प्लास्टिकको प्रयोग घटाउने तथा सरसफाइबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुधबार सूचना प्रकाशित गर्दै कार्यक्रमको घोषणा गरिएको हो ।
कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका स्थानीय, विद्यार्थी, युवा, महिला समूह तथा समुदायका सराेकारवाला व्यक्ति वा समूहहरूले सरसफाइसम्बन्धी गतिविधि तथा स्थानीय पहल समेटिएको भिडियो तयार गर्नुपर्नेछ । भिडियो कम्तिमा ३० सेकेन्ड र बढीमा ३ मिनेटको दायरा भित्र तयार हुनुपर्ने जनाएको छ ।
भिडियोमा घर–आँगन सफाइ, सडक र नालीको नियमित सरसफाइ, कुहिने र नकुहिने फोहोर छुट्याउने अभ्यास, प्लास्टिकका विकल्पको प्रयोग, तथा सामुदायिक सरसफाइ अभियानमा स्थानीय सहभागिताजस्ता विषय समेट्न सकिने बताइएको छ । साथै, भिडियो स्पष्ट, प्रभावकारी र स्थानीय भाषा, संस्कृति तथा जीवनशैली झल्किने खालको बनाउन आग्रह गरिएको छ ।
सहभागिता सहज बनाउनका लागि इच्छुक व्यक्ति वा समूहहरूले तयार गरिएको भिडियो यही पौष महिनाभित्र राप्ती गाउँपालिका कार्यालयमा दर्ता गराउनु पर्ने जनाएको छ ।
उत्कृष्ट तथा प्रभावकारी भिडियो चयन गरी ‘राप्ती गाउँपालिकाको सरसफाइ रनिङशिल्ड सञ्चालन कार्यविधि २०८२’ अनुसार सम्मान तथा पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । यस अभियानले सरसफाइप्रति समुदायको जिम्मेवारी र सहभागिता अझै बढाउने विश्वास गरिएको छ ।












