मसुरिया १८ मंसिर । दाङको राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापनको समस्या समाधान गर्न ७ सदस्यीय समिति गठन गरेको छ । मंगलबार बसेको गाउँकार्यपालिका बैठकले उपाध्यक्ष कमलापति चौधरीको संयोजकत्वमा समिति बनाएर ३० दिनभित्र आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी दिएको हो ।
समितिमा वडा नं. १ का अध्यक्ष गेमे खड्का, वडा नं. २ का अध्यक्ष पहलवान चौधरी, वडा नं. ३ का अध्यक्ष उमेश अधिकारी, वडा नं. ४ का अध्यक्ष विरबहादुर चौधरी, कार्यपालिका सदस्य सावित्री चौधरी, इन्जिनियर अशोक बेल्वासे र खानेपानी तथा सरसफाइ शाखा प्रमुख गीता चौधरी सदस्य सचिवका रूपमा रहनु भएको छ ।
समितिले पहिल्यै थुप्रिएको फोहोरको परिमाण पत्ता लगाई सुरक्षित र दिगो व्यवस्थापन गर्ने योजना बनाउनेछ । स्थानीयसँग निरन्तर समन्वय गर्दै सरसफाइ केन्द्रमा देखिएका समस्या समाधान गर्ने, कुहिने–नकुहिने फोहोर छुट्याउने तथा प्रशोधन र सुरक्षित विसर्जनका उपाय लागू गर्ने जिम्मा समितिलाई दिइएको छ ।
सरसफाइकर्मीले पञ्जा, मास्क, बुटलगायत सुरक्षा सामग्री अनिवार्य रूपमा प्रयोग हुने वातावरण बनाउने, केन्द्रको नियमित सञ्चालन तथा मर्मत–सम्भारमा ध्यान दिने कार्य पनि समितिले गर्नेछ ।
फोहोरबाट तयार हुने कम्पोस्ट मल र पुनःप्रयोग योग्य सामग्रीलाई बजारसम्म पुर्याउने, लागत–प्रभावी उपाय अपनाई स्रोत परिचालन गर्ने तथा नयाँ प्रविधि र उपकरणबारे सिफारिस गर्ने अधिकारसमेत समितिलाई दिइएको छ ।
समितिले आफ्नो कार्यप्रगति गाउँपालिकालाई नियमित रूपमा जानकारी गराउँदै जानेछ। गाउँपालिकाले यो समितिलाई दिगो फोहोर व्यवस्थापनतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ ।











