सोमवार, मंसिर २३, २०८२

घरमै गड्यौला मल उत्पादन गर्दै राप्तीका उपाध्यक्ष चौधरी : कृषिमा आत्मनिर्भरताको प्रेरक उदाहरण

सिसहनियाँ २२ मंसिर । दाङको राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले घरमै भर्मी कम्पोस्ट (गड्यौला) मल उत्पादन गर्दै कृषिमा आत्मनिर्भरता र उदाहरणीय नेतृत्व प्रस्तुत गर्नुभएको छ ।

सार्वजनिक जीवनको दैनिक व्यस्तता हुँदाहुँदै पनि उहाँले गत जेठदेखि राप्ती–६ भगवानपुरस्थित आफ्नै घरमा जैविक मल उत्पादनलाई निरन्तरता दिइरहनुभएको छ । गाउँपालिकामा जैविक कृषि प्रवर्द्धन तीव्र रूपमा अघि बढिरहेका बेला जनप्रतिनिधि स्वयं अर्गानिक मल उत्पादनमा जुट्नु स्थानीयका लागि प्रेरणादायी बनेको छ ।

उपाध्यक्ष चौधरीका अनुसार पछिल्ला वर्षहरूमा रासायनिक मलको अत्यधिक प्रयोगका कारण माटो कमजोर हुने, बालीको गुणस्तर घट्ने र मानव स्वास्थ्यमा दीर्घकालीन असर पर्ने समस्या बढेपछि किसानहरू अर्गानिक विकल्पतर्फ आकर्षित हुँदै गएका छन् । “रासायनिक मलको असर स्पष्ट देखिन थालेको छ । माटो, वातावरण र स्वास्थ्य तीनै क्षेत्रमा नकारात्मक प्रभाव परेको छ,” उहाँले भन्नुभयो, “त्यसैले अहिले गाउँ–टोलमै अर्गानिक मलको माग तीव्र रूपमा बढ्दै गएको छ ।” उहाँले कृषकहरूलाई दीर्घकालीन फाइदाका लागि जैविक खेती अपनाउन आग्रह पनि गर्नुभयो ।

घरमा रहेका १७ वटा भैंसीबाट निस्कने गोबरलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्दै भर्मी कम्पोस्ट उत्पादन सुरु गरिएको हो । सुरुवाती चरणमा उत्पादन भएको मल आफ्नै खेतबारीमा प्रयोग गरिए पनि अहिले स्थानीय किसानलाई बिक्री गर्न थालिएको छ । हालसम्म करिब १६–१७ हजार रुपैयाँ बराबरको मल बिक्री भइसकेको र प्रति केजी २० रुपैयाँमा बिक्री हुने गरेको उपाध्यक्ष चौधरी बताउनुहुन्छ ।

६४ केजी गड्यौला ल्याएर सानो परिमाणमा परीक्षणका रूपमा सुरु गरिएको यो प्रयास केही महिनामै राम्रो सफल भएपछि अहिले यसलाई थप व्यवस्थित र व्यावसायिक रूपमा विस्तार गर्ने योजनामा उहाँ हुनुहुन्छ । “पहिलो चरणमै राम्रो परिणाम आएपछि अब यसलाई अझ व्यापक रूपमा अगाडि बढाउने सोच बनाएकी छु,” चौधरीले बताउनुभयो । उहाँले मल उत्पादनका लागि अहिलेसम्म कुनै पनि निकायबाट अनुदान नलिएको जानकारी पनि दिनुभयो ।

उपाध्यक्षका रूपमा बैठक, कार्यक्रम र योजना अनुगमनजस्ता दैनिकी अत्यन्त व्यस्त भए पनि बिहान–बेलुका छुट्याइने केही समयमा उहाँ निरन्तर जैविक मल उत्पादनमा जुटिरहनुभएको छ । उहाँको यस सक्रियताले ‘कामसँग लगाव भए समय बाधा नबन्ने’ सन्देश दिएको छ ।

कम्लहरी जीवनबाट सुरु भएको संघर्ष, मेहनत र लगनले आज उहाँलाई गाउँपालिकाको नेतृत्व जिम्मेवारीसम्म पुर्‍याएको छ । “कम्लहरी भएर हुर्किएको मान्छे हुँ, आज जनप्रतिनिधिको हैसियतमा छु। श्रम नै सम्मान हो भन्ने कुरा जीवनले सिकाएको हो,” उहाँले स्मरण गर्नुभयो ।

राप्ती गाउँपालिकाले जैविक कृषि, वातावरणमैत्री खेती र स्थानीय उत्पादन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यही बीच जनप्रतिनिधि स्वयंले घरमै भर्मी कम्पोस्ट उत्पादन गरेर देखाएको सक्रियताले गाउँमा जैविक मलप्रतिको सम्भावना, विश्वास र प्रयोग दुवै बढाएको स्थानीयवासीहरूको बुझाइ छ ।

उपाध्यक्ष चौधरीको यो पहलले कृषिमा आत्मनिर्भरता, उत्पादनशिलता र जैविक खेतीप्रतिको आकर्षण बढाउनुका साथै महिलाहरूका लागि श्रम, संघर्ष र सफलताको नयाँ प्रेरणा दिएको छ । उहाँको निरन्तर प्रयासले राप्तीको कृषि प्रणाली दीर्घकालीन रूपमा जैविक र दिगो दिशातर्फ अघि बढ्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation