राप्ती गाउँपालिका–२, पुन्यपुरस्थित सरसफाइ व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीपछि उत्पन्न अवस्थालाई व्यवस्थित गर्दै वातावरणीय तथा स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आइतबारदेखि अभियान थालिएको हो ।
आगलागीका कारण केन्द्रभित्रका संरचना तथा उपकरण क्षतिग्रस्त भई फोहर व्यवस्थापन चुनौतीपूर्ण बनेपछि केन्द्रलाई तत्काल सामान्य अवस्थामा ल्याउन विशेष अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।
अभियानमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकसहित ९ वटै वडाका जनप्रतिनिधि, पालिकाका कर्मचारी, सुरक्षाकर्मी, विभिन्न संघ–संस्था तथा सराेकारवालाहरूको सक्रिय सहभागिता रहेको छ । सहभागीहरूले केन्द्र परिसरको सरसफाइ, जलेका सामग्री छुट्याउने, सुरक्षित रूपमा फोहर व्यवस्थापन गर्ने तथा जोखिमयुक्त क्षेत्रको व्यवस्थापन कार्य गरिरहेका छन् ।
गाउँपालिकाका अनुसार अभियानको मुख्य उद्देश्य आगलागीपछिको अवस्थालाई व्यवस्थित गर्दै वातावरणीय प्रदूषण नियन्त्रण गर्नु र फोहर व्यवस्थापन केन्द्रलाई नियमित सञ्चालनमा ल्याउनु हो । साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्ने र नियमित अनुगमनलाई प्राथमिकता दिइने बताइएको छ ।
राप्ती गाउँपालिकाले सरसफाइ तथा व्यवस्थापन अभियानलाई निरन्तरता दिँदै स्थानीय तहमा सफा, स्वच्छ र सुरक्षित वातावरण निर्माणका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ ।











