देउखुरी ४ पौष । लुम्बिनी प्रदेशका नवलपरासी (सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र दाङ जिल्लामा नेपाल विद्युत प्राधिकरणद्वारा प्रस्तावित न्यू बुटवल–लमही ४०० केभी विद्युत प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयारीसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
राप्ती गाउँपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको अध्यक्षता रहेको थियो । कार्यक्रममा आयोजनाको संक्षिप्त परिचय तथा स्वागत मन्तव्य अधिकृत नारायण अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।
आयोजनाको प्राविधिक प्रगतिबारे आ.ई. दिपेन्द्र ठाकुरले जानकारी गराउनुभयो भने प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदनको प्रस्तुती टोली सदस्य वातावरण बिज्ञ सूर्यप्रसाद भट्टराईले गर्नुभएको थियो। सार्वजनिक सुनुवाइका क्रममा प्राप्त राय–सुझावबारे संक्षिप्त जानकारी आयोजनाका प्रमुख विरेन्द्र कुमार झाले प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा राप्ती गाउँपालिका–४ का वडा अध्यक्ष, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि तथा बन महासंघका प्रतिनिधिहरूले विकाससँगै वातावरणीय संरक्षणलाई समेत ध्यान दिइनुपर्ने भन्दै विनाशरहित विकास को अवधारणामा जोड दिनुभएको थियो ।
कार्यक्रममा राप्ती गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरू, रामजहदी, कालिका, करम्दी, छन्टदेव, शान्ति, शंकर, कालापानी र देउकी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा सदस्यहरू, साथै बन महासंघका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन सामाजिक विकास तथा वातावरणीय परामर्शदाता संस्था एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड का तर्फबाट सुवास चन्द्र घिमिरेले गर्नुभएको थियो । कार्यक्रमको समापन सभा अध्यक्ष कमलापति चौधरीले गर्नुभएको हो ।
उक्त आयोजनाको प्रस्तावक नेपाल विद्युत प्राधिकरण तथा परामर्शदाता एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड रहेको छ ।











