चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

सिसहनियाँ १६ पुस । चिसो मौसम बढ्दै गएपछि दाङको राप्ती गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गरिने भएको छ ।

राप्ती गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै पुस १६ गते बुधबारदेखि १८ गते शुक्रबारसम्म विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको जनाएको हो ।

१९ गते शनिबार सार्वजनिक बिदा परेकाले लगातार चार दिन विद्यालयहरू बन्द रहने भएका छन् ।

सूचनामा देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको र तराईका धेरै स्थानमा बाक्लो हुस्सु तथा कुहिरोसँगै शीतलहर चलिरहेको उल्लेख गरिएको छ । अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने देखिएकाले सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विकद्वारा हस्ताक्षरित सूचनामा हालका लागि तीन दिन पठनपाठन स्थगित गरिएको र उक्त बिदा हिउँदे बिदाबाट कट्टा गरिने व्यवस्था मिलाइने उल्लेख छ ।

साथै मौसमको अवस्था सुधार नआएमा पठनपाठन सञ्चालन वा थप स्थगन गर्ने विषयमा पुनः सूचनामार्फत जानकारी गराइने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation