देउखुरी २५ माघ । विद्यालय केवल पाठ्यपुस्तक पढाउने संस्था मात्र होइन, सोच, सीप र चेतनाको निर्माण गर्ने प्रयोगशाला पनि हो भन्ने सन्देश चैतन्य पाठशाला राप्ती उपत्यकाले आफ्नो गरिमामय दोस्रो वार्षिकोत्सव समारोहमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।
मौरिघाट, देउखुरी दाङमा अवस्थित यस विद्यालयले प्रगतिशील शिक्षा दर्शन र क्रियाकलाप–केन्द्रित सिकाइ पद्धतिलाई आत्मसात् गर्दै शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ ।
समारोहमा विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, नाटक, विज्ञान विषयअन्तर्गतका प्रविधिमैत्री परियोजना, कम्प्युटर विषयका डिजिटल पाठ्यक्रमसँग जोडिएका परियोजना, कारखाना विज्ञानसँग सम्बन्धित प्रयोगात्मक कार्यहरू तथा अन्य विविध सिर्जनात्मक गतिविधिहरूले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। साथै विद्यालयद्वारा प्रकाशित ‘चैतन्य प्रज्ञा’ नामक पुस्तकको विमोचनले विद्यालयको शैक्षिक र बौद्धिक यात्रालाई थप अर्थपूर्ण बनाएको देखिन्थ्यो ।
विद्यालयका सहायक प्राचार्य बसन्तराज भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएकोकार्यक्रमको सभापतित्व चैतन्य पाठशाला राप्ती उपत्यकाका अध्यक्ष तथा पूर्व प्रहरी महानिरीक्षक ठाकुरप्रसाद गेवालीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. विनोद ढकालको गरिमामय उपस्थिति रहेको थियो। विशिष्ट अतिथिहरूमा वरिष्ठ साहित्यकार तथा संविधानसभाका सदस्य नारायणप्रसाद शर्मा, राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, तथा एन–प्याप्सन दाङका अध्यक्ष सुरेन्द्र न्यौपाने रहनुभएको थियो ।
विद्यालयकी प्राचार्य सुष्मा रेग्मीले वार्षिक शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले अवलम्बन गर्दै आएको सिकाइ–केन्द्रित र जीवनोपयोगी शिक्षाको अभ्यासबारे जानकारी गराउनुभयो। त्यसैगरी प्रबन्ध निर्देशक डा. जीवराज आचार्यले विद्यालयको प्रगतिशील शैक्षिक पद्धति, त्यसका सकारात्मक प्रभाव र भविष्यको शैक्षिक दृष्टिकोणबारे प्रकाश पार्नुभयो ।
शुभकामना मन्तव्य व्यक्त गर्ने वक्ताहरूमा विद्यार्थी सम्झना मल्ल, शिक्षक रश्मी अधिकारी, अभिभावक चुमबहादुर रोका मगर, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक देउप्रसाद ओली, गोल्डेन फ्युचर एकेडेमीका प्रधानाध्यापक रामप्रसाद पौडेल, ऐरावती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली, तथा एन–प्याप्सन दाङका अध्यक्ष सुरेन्द्र न्यौपाने रहनुभएको थियो। वक्ताहरूले विद्यालयको शैक्षिक पद्धति, अनुशासित वातावरण र विद्यार्थीमैत्री दृष्टिकोणको खुलेर प्रशंसा गर्नुभएको थियो ।
प्रमुख अतिथि डा. विनोद ढकालले समाज परिवर्तनका लागि शिक्षामा परिवर्तन अपरिहार्य रहेको उल्लेख गर्दै चैतन्य पाठशाला केवल एउटा विद्यालय मात्र नभई विचार, दृष्टिकोण र अभियान भएको धारणा व्यक्त गर्नुभयो । उहाँले दाङ जिल्लाका विद्यालयहरूले यस विद्यालयको शैक्षिक अभ्यासबाट प्रेरणा लिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सभापतिको आसनबाट बोल्दै ठाकुरप्रसाद गेवालीले कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्व, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि विद्यालयलाई निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा सभापतिको आसनबाट बोल्दै ठाकुरप्रसाद गेवालीले कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्व, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि विद्यालयलाई निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा गर्नुभयो ।











