मङ्लबार, फाल्गुन १२, २०८२

दाङ १ का स्वतन्त्र उम्मेदवार केसीको पक्षमा ४७ जना नेकपाका नेता कार्यकर्ताहरुले दिए सामूहिक राजीनामा

दाङ १२ फागुन । दाङ निर्वाचन क्षेत्र नम्बर १ को राजनीतिक परिवेशमा नयाँ तरंग पैदा भएको छ । कुलप्रसाद केसी (सुनाम) को पक्षमा खुलेका ४७ जना नेपाल कम्युनिस्ट पार्टी का नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् ।

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीस्थित डिलक्सिन होटल, मौरीघाटमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी स्वतन्त्र नागरिकको हैसियतमा अघि बढ्ने निर्णय सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै वक्ताहरूले दाङ–१ का स्वतन्त्र उम्मेदवार तथा पूर्व मुख्यमन्त्री केसीको पक्षमा उभिएको विषयलाई लिएर पार्टीले केन्द्र, प्रदेश, जिल्ला तथा पालिका तहसम्मका नेताहरूलाई पालैपालो कारबाही गरेको आरोप लगाए । उक्त कारबाहीप्रति असहमति जनाउँदै उनीहरूले पार्टीभित्र विचार स्वतन्त्रता र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको निष्कर्षसहित सामूहिक रूपमा अलगिएको बताएका छन् ।

राजीनामा घोषणा गर्दै उनीहरूले आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार केसीलाई चुनाव चिन्ह “आँप” मा मतदान गरी अत्यधिक मतले विजयी गराउने प्रतिबद्धता व्यक्त गरे ।

सामूहिक राजीनामा दिनेहरूमा चित्रबहादुर थापा (लुम्बिनी प्रदेश सदस्य), नारायणी पोखरेल (उपाध्यक्ष), जगतबहादुर थापा (राप्ती गापा समिति सचिव), गञ्जबहादुर बिष्ट (जि.स.स), रणप्रसाद सुवेदी (जि.स.स), कृष्णप्रसाद सुवेदी, बसन्त गिरी (पूर्व कोषाध्यक्ष, गढुवा गापा), झग्गु प्रसाद अधिकारी (राप्ती गापा समिति सदस्य), माधव भुसाल (वाईसीएल लुम्बिनी प्रदेश सदस्य), चन्द्र चौधरी (राप्ती सचिवालय सदस्य), उमा चौधरी (राप्ती गापा सहसचिव), पदमबहादुर पाण्डे (राप्ती गापा–१ अध्यक्ष), छपेन्द्र बुढाथोकी, युवराज ज्ञवली तारा, झविन्द्र केसी, चेतमान परियार (वडा नं. ७ अध्यक्ष), ऋषिराम आचार्य, दीपक पुन, बिर्खबहादुर मोहोरा, नारायण पौडेल, बिन्दु घिमिरे, खड्गबहादुर बिक, शेरबहादुर परियार (कमिटी सल्लाहकार), हिमबहादुर, सोबिना सुनार, रङबहादुर सुनार (कमिटी सदस्य), बिन्दु खनाल, देवीराम ओली, शारदा आचार्य, विष्णु पोखरेल, माधव श्रेष्ठ (कमिटी सदस्य), भीमबहादुर थापा, युवराज थापा, धनबहादुर थापा मगर, मनोज दर्लामी, तनबहादुर दर्लामी, मनोज दर्लामी मगर, विष्णु कुँवर, कुलबहादुर बस्नेत, प्रकाश न्यौपाने (सल्लाहकार), गिरबहादुर थापा मगर, शंकर गौतम, बेगम हमाल, कमल गुरुङ, कमलबहादुर घिमिरे तथा गङ्गा गिरी (वडा कमिटी सदस्य) लगायत रहेका छन् ।

यस घटनाले दाङ–१ को आगामी निर्वाचनमा राजनीतिक समीकरणमा उल्लेख्य प्रभाव पार्ने आँकलन गरिएको छ । निर्वाचन परिणाममा यसको प्रभाव कस्तो रहनेछ भन्ने विषयलाई अहिले चासोपूर्वक हेरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation