मङ्लबार, फाल्गुन १९, २०८२

राप्तीमा राष्ट्रव्यापी ‘क्रसकन्ट्री देवीकोट दर्शन दौड’ : प्रथमलाई ५० हजार पुरस्कार

भालुबाङ १८ फागुन । दाङको राप्ती गाउँपालिकाले स्थापना दिवसको अवसरमा राष्ट्रव्यापी खुला ‘क्रसकन्ट्री देवीकोट दर्शन दौड’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिता फागुन २९ गते बिहान ७ बजे सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

ऐतिहासिक तथा पौराणिक महत्व बोकेको वडा नं. ९ स्थित भद्राक्षीदेवी मन्दिर देवीकाेट (सतिदेवीको देब्रे घुँडा पतन भएको ठाउँ) को राष्ट्रव्यापी प्रचारप्रसार तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले जानकारी दिनुभयो ।

प्रतियोगिताको दौड मार्ग वडा नं. ४ को श्रीनारायण चोकदेखि देवीकोटस्थित भद्राक्षीदेवी मन्दिरसम्म करिब ८ किलोमिटर रहनेछ ।

खुला राष्ट्रव्यापी प्रतियोगिता भएकाले देशभरका इच्छुक खेलाडीहरूले सहभागिता जनाउन सक्नेछन् ।

सहभागिताका लागि नाम दर्ता फागुन १८ गतेदेखि २८ गतेसम्म गर्न सकिने व्यवस्था गरिएको छ ।

इच्छुक खेलाडीले गाउँपालिकाको कार्यालयमा उपस्थित भई वा इमेलमार्फत निवेदन पठाएर निःशुल्क नाम दर्ता गराउन सक्नेछन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

पुरस्कार रकममा नियमानुसार करकट्टी गरिने जनाइएको छ ।

गाउँपालिकाले प्रतियोगितामार्फत देवीकोट क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्व उजागर हुने विश्वास व्यक्त गर्दै खेलाडी, युवावर्ग तथा सरोकारवाला सबैमा उत्साहपूर्ण सहभागिताका लागि आह्वान गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation