सिसहनियाँ २५ फागुन । दाङको राप्ती गाउँपालिकाले ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पाठेघरको मुखको क्यान्सर तथा प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क स्क्रिनिङ तथा व्यवस्थापन स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
“सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मूल नाराका साथ राप्ती गाउँपालिका–५ स्थित करङ्गेकोट सामुदायिक स्वास्थ्य इकाईमा आइतबार शिविर आयोजना गरिएको हो ।
शिविरमा ४६ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण, प्रजनन स्वास्थ्य जाँच तथा आवश्यक परामर्श सेवा प्रदान गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । परीक्षणका क्रममा केही महिलामा देखिएका स्वास्थ्य समस्याको व्यवस्थापन तथा थप उपचारका लागि आवश्यक परामर्शसमेत दिइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले महिलाको स्वास्थ्य सुरक्षालाई स्थानीय सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले महिलामा देखिने पाठेघरको मुखको क्यान्सरजस्ता रोगको समयमै पहिचान र उपचारका लागि यस्ता स्वास्थ्य शिविर प्रभावकारी हुने उल्लेख गर्नुभयो। साथै महिलाको अधिकार, समान अवसर र स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न गाउँपालिका निरन्तर क्रियाशील रहने बताउनुभयो ।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष कमलापती चौधरीले महिलाहरूले आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्नेमा जोड दिँदै यस्ता शिविरहरूले ग्रामीण क्षेत्रका महिलालाई प्रत्यक्ष लाभ पुर्याउने बताउनुभयो । उहाँले महिलाको सशक्तिकरण र स्वास्थ्य संरक्षणका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
शिविरमा वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, राप्ती आधारभूत अस्पतालका प्रशासन प्रमुख पृथ्वी पौडेल, मेसु डाक्टर सुशील केसी, स्वास्थ्य अधिकृत भारती सन्यासी, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दीपा पोख्रेल, समाजसेवी चित्रबहादुर थापा मगर, स्थानीय महिला, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
गाउँपालिकाले आगामी दिनमा पनि महिला स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।











