बिहिबार, चैत्र ५, २०८२

राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न, विभिन्न विधेयक पारित

मसुरिया ४ चैत । दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन (हिउँदे अधिवेशन) मंगलबार सम्पन्न भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँसभा/नगरसभाको (कार्य सञ्चालन) कार्यविधि, २०७६ को दफा ३(१) बमोजिम गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न अधिवेशनले विभिन्न विधेयकहरू पारित गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीले पेश गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमको रकमान्तर प्रस्ताव, २०८२ तथा राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को आय–व्ययको संशोधित अनुमान प्रस्ताव सभामा छलफलपछि पारित गरिएको हो ।

त्यसैगरी, सभा सदस्य तथा आर्थिक विकास समिति संयोजक गेमे खड्काले पेश गर्नुभएको राप्ती गाउँपालिकाको व्यवसाय दर्ता विधेयक, २०८२ र सभा सदस्य तथा सामाजिक विकास समिति संयोजक पहलवान चौधरीले पेश गर्नुभएको राप्ती गाउँपालिकाको दलित सशक्तीकरणसम्बन्धी व्यवस्था विधेयक, २०८२ समेत सभाबाट पारित भएका छन् ।

यस्तै, सभा सदस्य तथा सुशासन विकास समिति संयोजक देवप्रसाद चौधरीले पेश गर्नुभएको कर्मचारीहरूको सेवा, सुविधा तथा शर्तसम्बन्धी राप्ती गाउँपालिकाको करार सेवा विधेयक, २०८२ र राप्ती गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८२ पनि छलफलपछि पारित भएका छन् ।

सभामा पेश गरिएका विधेयकहरू बैठकमा विस्तृत छलफलपछि गाउँपालिका अध्यक्ष तथा सभा अध्यक्ष प्रकाश विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । ती विधेयकहरू सभा बाट सर्वसम्मत रूपमा पारित भएका हुन् ।

सभाको शून्य समयमा सभा सदस्यहरूले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माण, सेवा प्रवाह तथा जनजीविकासँग सम्बन्धित विविध विषयहरू उठान गर्नुका साथै सोसँग सम्बन्धित रचनात्मक सुझावहरू समेत राख्नुभएको थियो ।

सभाका अध्यक्षसमेत रहनु भएका गाउँपालिका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाको समग्र विकास, सुशासन प्रवर्द्धन तथा जनताको जीवनस्तर सुधारका लागि गाउँपालिका निरन्तर प्रयासरत रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation