गढवा । दाङ देउखुरीको गढवा गाउँपालिका मा भूमिहीन कृषकलाई लक्षित गरी मौरीपालन सम्बन्धी तालिम दिईएको छ ।
गढवा गाउँपालिकाको कार्यालय र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (CSRC)को समन्वयमा आयोजित मौरीपालन तालिम पश्चात भूमिहिन किसानलाई व्यवसायिक रुपमा मौरीपालन व्यवसाय लाग्न जोड दिईएको छ ।
शुक्रबार गढवा गाउँपालिकाको सभाहलमा समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाले आत्मनिर्भरका लागि भूमिहिन किसानहरुले व्यवसायिक रुपमा मौरीपालन व्यवसाय सञ्चालन गर्न जोड दिनुभयो। मौरीपालन तालिम संगै महिला शसक्तिकरणको क्षेत्रमा यो तालिमले उदाहरणीय बनेको बताउनु भयो । अगाडि आएर बोल्न नसक्ने दिदिबहिनीहरु निर्धक्कका साथ अगाडि आएर बोलेको देख्दा आफू अत्यन्त खुसी भएको बताउदै वडाध्यक्ष थापाले तालिम मार्फत मौरीपालनको ज्ञान संगै शशक्तिकरणको विकास भएको बताउनुभयो । तालिमले केवल एउटा क्षेत्रमा मात्र होइन विविध क्षेत्रमा सफलता दिएको बताउनुभयो।बाटोघाटो बन्नु मात्र विकास नभएको बताउदै वडाध्यक्ष थापाले मानव विकास सबैभन्दा पहिलो विकास भएको बताउनुभयो ।
UN‑Habitat Nepal र Good Neighbours International Nepal को आर्थिक सहयोगमा सञ्चालन भएको उक्त तालिममा गढवा र राप्ती गाउँपालिकाका गरी ५० जना भूमिहीन महिला तथा पुरुष कृषकहरुको सहभागीता रहेको थियो ।
तालिमका प्रशिक्षक तथा मौरी विज्ञ रुद्रमणी पौडेलले तालिममा मौरीपालनका सैद्धान्तिक विषयसँगै बढी प्रयोगात्मक अभ्यास मा बढी जोड दिएको बताउनुभयो । सहभागीलाई मौरी पालन, घार सार्ने तरिका, मह सङ्कलन तथा विषादीबाट मौरीलाई जोगाउने उपायबारे प्रशिक्षण दिईएको जानकारी दिनुभयो ।
गुड नेबर्स ईन्टरनेस्नल र संयुक्त राष्ट्र सङ्घीय मानव बसोबास कार्यक्रम UN-Habitat Nepal को प्रविधिक तथा आर्थिक सहयोगमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र गढवा गाउँपालिकाको आयोजनामा गढवा र राप्तीका ५० जना भूमीहिन कृषकहरुका लागि मौरीपालन तालिम दिईएको सामुदायिक आत्मनिर्भर सेवा केन्द्रकी जलवायु मैत्री कृषि संयोजक निलम त्रिपाठीले जानकारी दिनुभयो ।
गढवा गाउँपालिका वडा नं. ५ को ठूलीचौर भूमि अधिकार मञ्चकी बिमला बिक, डाँडागाउँ भूमि अधिकार कृषक समूहकी सुष्मिता चौधरी र राप्ती गाउँपालिका कालापानी भूमि अधिकार कृषक समूहकी बेलमति चौधरीले तालिम अवधिभर सिकेका ज्ञान सिप र आगामी दिनमा आवस्यक पर्ने थप तालिम लगायतका वारेमा बोल्नु भएको थियो ।
तालिममा गढवा गाउँपालिका वडा नं. ५ को ठूलीचौर भूमि अधिकार मञ्चका २४ जना, डाँडागाउँ भूमि अधिकार कृषक समूहका १५ जना तथा राप्ती गाउँपालिका कालापानी भूमि अधिकार कृषक समूहका ११ जना गरी ५० जना सहभागी भएका थिए ।
गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५ नं. वडा सदस्य खिमा डांगी, कृषि विकास शाखाकी अधिकृत निहारिका चौधरी,सहायक प्रशिक्षक अशोक शर्मा गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण कृषि प्राविधिक सागर शर्माले गर्नु भएको थियो ।











