देउखुरी । राप्ती उपत्यका देउखुरी स्थित मौरीघाटमा रहेको चैतन्य पाठशालाको आयोजनामा ‘कोपिला’ दिक्षान्त समारोह शनिबार सम्पन्न भएको छ ।
पाठशालाका प्रबन्ध निर्देशक डा. जीवराज आचार्यको अध्यक्षता तथा राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले परम्परागत शिक्षण पद्धतिलाई समयानुकूल सुधार गर्नुपर्नेमा जोड दिए ।
उनले बालबालिकालाई घोकाएर वा दण्डित गरेर भन्दा पनि उनीहरूको रुचि, क्षमता र सिर्जनशीलतालाई ध्यानमा राखेर सिकाउने विधि अपनाउनु आवश्यक रहेको बताए । “आजको युगमा बालबालिकालाई डर देखाएर होइन, प्रेरणा दिएर सिकाउनुपर्छ,” उनले भने, “सिकाइ प्रक्रिया रमाइलो, सहभागितामूलक र प्रयोगात्मक हुन सके मात्र बालबालिकाको समग्र विकास सम्भव हुन्छ ।”
त्यस्तै पाठशालाका प्रबन्ध निर्देशक डा. जीवराज आचार्यले विद्यालयले सञ्चालन गर्दै आएको ‘खेल्दै–पढ्दै’ कार्यक्रमले बालबालिकाको सिकाइ क्षमतामा उल्लेखनीय वृद्धि भएको बताए । उनले प्रारम्भिक शिक्षामा खेल, क्रियाकलाप र व्यवहारिक अभ्यासलाई जोड दिनुपर्ने धारणा व्यक्त गर्दै भने, “बालबालिकाले जब रमाइलो गर्दै सिक्छन्, तब सिकाइ दीर्घकालीन र प्रभावकारी बन्छ। यही उद्देश्यलाई केन्द्रमा राखेर हामीले पाठ्यक्रम र गतिविधिहरू सञ्चालन गरिरहेका छौं ।
”विद्यालयकी प्रधानाध्यापक सुषमा रेग्मीले बालबालिकाको सर्वाङ्गीण विकासमा विद्यालयको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताइन् । उनले शैक्षिक ज्ञानसँगै नैतिक शिक्षा, अनुशासन, संस्कार र सामाजिक व्यवहार सिकाउनु पनि विद्यालयको दायित्व भएको उल्लेख गरिन् । “हामीले केवल किताबको ज्ञान मात्र होइन, जीवन उपयोगी सीपहरू पनि बालबालिकालाई सिकाउने प्रयास गरिरहेका छौं,” उनले भनिन् ।
दिक्षान्त समारोहमा ‘कोपिला ३’ तहका बालबालिकाहरूलाई औपचारिक रूपमा दिक्षित गरिएको थियो । उनीहरूलाई मेहनत, अनुशासन, संस्कार, सम्मान तथा समग्र व्यवहारिक पक्षका आधारमा मूल्याङ्कन गरी दिक्षित गरिएको थियो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा बालबालिकालाई विभिन्न विधामा अवार्ड वितरण गरिएको थियो ।
बालबालिकालाई प्रोत्साहन स्वरूप प्रमाणपत्र पनि प्रदान गरिएको थियो। कार्यक्रममा बालबालिकाहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरेका थिए । गीत, नृत्य तथा अभिनय मार्फत उनीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रमहरूले बालबालिकाको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उनीहरूको आन्तरिक प्रतिभा उजागर गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
प्रि प्राइमरी सहजकर्ता लक्ष्मी भण्डारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा अभिभावक अनिता चाैधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन प्रि प्राइमरी कोडिनेटर कल्पना गैरेले गरेकी थिइन् ।











