गढवा । दाङ देउखुरीको गढवा गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि चारदिने पुनर्ताजगी तालिम सुरु भएको छ ।
गढवा गाउँपालिकाको समन्वयमा लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा जिल्ला स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय दाङका बरिष्ठ तथ्याङ्क अधिकृत मेघराज पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाको ज्ञान, सीप तथा कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले पुनर्ताजगी तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहांका अनुसार तालिममा मातृ तथा शिशु स्वास्थ्यका आधारभूत विषयहरूमा विशेष जोड दिइनेछ । गर्भवती महिलाको नियमित जाँच, सुरक्षित सुत्केरी सेवा, नवजात शिशुको स्याहार तथा पोषण व्यवस्थापनका विषयमा सहभागीलाई पुनः अभिमुखीकरण गराइनेछ ।
जिल्ला स्वास्थ्य कार्यालय दाङकी पब्लिक हेल्थ नर्सिङ निरीक्षक तथा प्रशिक्षक रिता न्योपानेले तालिममा खोप कार्यक्रमको महत्त्व, बालबालिकामा देखिने सामान्य रोगको पहिचान र प्राथमिक उपचारसम्बन्धी जानकारी प्रदान गरिने बताउनुभयो । साथै झाडापखाला, निमोनिया, क्षयरोग र डेंगुजस्ता सरुवा रोगको रोकथाम, पहिचान तथा समुदायमा सचेतना फैलाउने विधिबारे पनि प्रशिक्षण दिइने उहाले जानकारी दिनुभयो ।
गढवा गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक रोहित चौधरीले व्यवहारिक अभ्यास र समूह छलफलमार्फत स्वयंसेविकाको भूमिका अझ प्रभावकारी बनाइने बताउनुभयो ।
गाउँपालिकामा हाल ८२ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । तालिममा आठवटै वडाबाट छनोट गरिएका २२ जना स्वयंसेविकाको सहभागिता रहेको गढवा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका बरिष्ठ तथ्याङ्क अधिकृत मेघराज पौडेलको अध्यक्षतामा सुरु भएको तालिम उद्घाटन कार्यक्रममा पब्लिक हेल्थ नर्सिङ निरीक्षक रिता न्योपाने, स्वास्थ्य अधिकृत खिमा कुमारी भुसाल, जनस्वास्थ्य निरीक्षक रोहित चौधरी तथा गढवा स्वास्थ्य चौकी प्रमुख सूर्यनारायण यादव लगायतको सहभागिता रहेको थियो ।











