मसुरिया । दाङको राप्ती गाउँपालिकामा देउखुरी क्षेत्रका चार स्थानीय तहबीच अन्तर–स्थानीय तह समन्वय बैठक मंगलबार सम्पन्न भएको छ ।
बैठकले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।
राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाबीच संयुक्त रूपमा विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रम अघि बढाउने सहमति भएको हो ।
निर्णय अनुसार विपद्का लागि आवश्यक सामग्रीको पहिचान गरी समन्वयमा खरिद तथा भण्डारण गरिनेछ ।
उद्धार सामग्री नजिकका सुरक्षा निकायसँग सहकार्य गरी व्यवस्थापन गरिनेछ भने खुला तथा सुरक्षित स्थान पहिचान गरी कम्तीमा दुई स्थानमा सामूहिक रूपमा आश्रयस्थल निर्माण गरिनेछ ।
त्यस्तै, राप्ती नदी तथा राजमार्ग आसपास हुन सक्ने विपद्का लागि पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउने निर्णय गरिएको छ । विपद्को समयमा आवश्यक पर्ने खाद्यान्न, कपडा लगायत राहत सामग्री संयुक्त रूपमा व्यवस्थापन गरिनेछ ।
चारवटै स्थानीय तहका युवालाई समेटेर विपद् व्यवस्थापन स्वयंसेवक समूह गठन गर्ने तथा कम्तीमा ७ दिने तालिम सञ्चालन गरी आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउने सहमति पनि भएको छ ।
बैठकलाई नियमित र व्यवस्थित बनाउन प्रत्येक महिनामा पालोअनुसार विभिन्न स्थानीय तहमा आयोजना गर्ने निर्णय गरिएको छ ।
बैठकमा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले देउखुरी क्षेत्र विपद्को दृष्टिले संवेदनशील भएकाले स्थानीय तहबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले दीर्घकालीन संयुक्त योजना निर्माण गरी विपद् जोखिम न्यूनीकरणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पाख्रेलले विपद् पूर्वतयारी, स्रोत साधनको साझा उपयोग र एकीकृत योजना आवश्यक रहेको उल्लेख गर्नुभयो ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव विनोद लामिछानेले स्थानीय तहबीचको सहकार्य सुदृढ गर्दै प्रभावकारी विपद् व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा लमही नगरपालिकाकी उप–प्रमुख लक्ष्मी योगी, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगी,विपद फाेकल पर्सन, सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
यसै क्रममा नेपालगञ्ज उपमहानगरपालिकाका विपद् व्यवस्थापन शाखाका प्रशासकीय अधिकृत दिपेन्द्र श्रेष्ठले त्यहाँ सञ्चालन हुँदै आएका विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीका अभ्यास प्रस्तुत गर्दै देउखुरी क्षेत्रमा पनि यस्ता कार्यक्रम लागू गर्न सकिने बताउनुभयो ।
बैठकमा स्थानीय तहबीच सहकार्य, पूर्वसूचना प्रणाली सुदृढीकरण, एकीकृत योजना निर्माण तथा दीर्घकालीन साझा विकास अवधारणाअनुसार अघि बढ्ने विषयमा समेत छलफल भएको थियो ।
भविष्यमा उपमहानगर तथा महानगरपालिका अवधारणालाई ध्यानमा राख्दै संयुक्त योजना निर्माण गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले गर्नुभएको थियो ।











