बुधबार, चैत्र २५, २०८२

एसईई परीक्षार्थीलाई दही खुवाउँदै शुभकामना, गढवामा परम्परागत संस्कृतिको झल्को

गढवा १९ चैत्र । दाङको गढवा गाउँपालिका–स्थित जनता माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीलाई दही खुवाएर शुभकामना दिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमाल, प्रधानाध्यापक राम सुरत यादव तथा शिक्षकहरूको टोलीले परीक्षा केन्द्रतर्फ जानुअघि विद्यार्थीलाई दही खुवाउँदै सफलताको कामना गरेका हुन् । विद्यालयको यस पहलले स्थानीय स्तरमा धार्मिक तथा सांस्कृतिक परम्पराको झल्को दिएको छ ।

हिन्दू धर्म संस्कृतिमा दहीलाई शुभ, पवित्र र सफलताको प्रतीकका रूपमा लिइन्छ । कुनै महत्वपूर्ण कामको सुरुवात अघि दही खाने वा खुवाउने चलन प्राचीनकालदेखि रहँदै आएको छ ।

दहीले मन शान्त राख्ने, सकारात्मक ऊर्जा दिने तथा कार्य सफल हुने विश्वासका कारण विद्यार्थीलाई परीक्षा जस्तो महत्वपूर्ण क्षणमा दही खुवाइएको विद्यालयले जनाएको छ ।

यसैबीच, १९ चैत्रदेखि देशभर सुरु भएको एसईई परीक्षामा करिब ५ लाखभन्दा बढी विद्यार्थी सहभागी भएका छन् ।

यस्तो अवस्थामा गढवामा गरिएको यस किसिमको सांस्कृतिक अभ्यासले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै सकारात्मक सन्देश प्रवाह गरेको सरोकारवालाहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation