मङ्लबार, चैत्र २४, २०८२

चैतन्य पाठशाला राप्ती उपत्यकामा अभिभावक शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

देउखुरी । चैतन्य पाठशाला राप्ती उपत्यकाले प्रगतिशील (Progressive Education) शिक्षा दर्शनलाई व्यवहारमा उतार्दै मिति २०८२ साल चैत्र २१ गते कोपिला १ देखि कक्षा ३ सम्मका अभिभावकहरूलाई लक्षित गरी “अभिभावक शिक्षा तथा अन्तरक्रिया कार्यक्रम” सफलतापूर्वक सम्पन्न गरेको छ ।
विद्यालयका प्रबन्ध निर्देशक डा. जीवराज आचार्यको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रमको प्रमुख आकर्षण काठमाडौँ विश्वविद्यालयकी प्राध्यापक डा. मिनाक्षी दाहाल रहनुभएको थियो।

प्रारम्भिक बाल शिक्षा (Early Childhood Education) क्षेत्रमा नेपालको अग्रणी विशेषज्ञका रूपमा चिनिनुहुने डा. दाहालले शिक्षक क्षमता विकास, बालमैत्री शिक्षण पद्धति तथा शैक्षिक नीति निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ ।

कार्यक्रममा उहाँले अभिभावकहरूलाई बालबालिकाको समग्र विकासका लागि घरमै अपनाउनुपर्ने व्यवहार, सकारात्मक अभिभावकत्व, तथा आधुनिक शिक्षण विधिहरूबारे प्रेरणादायी र सचेतनामूलक प्रस्तुति दिनुभयो । उहाँको प्रस्तुति अत्यन्त व्यवहारिक, सरल र प्रभावकारी रहेको अभिभावकहरूले बताएका थिए ।

डा. दाहालद्वारा लगातार चार दिन सम्म विद्यालयका शिक्षकहरूका लागि “शिक्षक क्षमता विकास तालिम” समेत सञ्चालन गर्नुभएको थियो, जसले विद्यालयको शैक्षिक गुणस्तर थप सुदृढ बनाउने विश्वास लिइएको छ ।

कार्यक्रममा पूर्व प्राथमिक तहकी सहजकर्ता सरस्वती चौधरीले तालिम तथा कार्यक्रमबाट प्राप्त अनुभवहरू साझा गर्नुभयो। उहाँले सिकाइ प्रक्रियालाई अझ बालकेन्द्रित, सक्रिय र जीवनोपयोगी बनाउन कार्यक्रमले ठूलो सहयोग पुर्‍याएको बताउनुभयो ।

चैतन्य पाठशाला राप्ती उपत्यका प्रगतिशील शिक्षा दर्शन अवलम्बन गर्ने विद्यालयका रूपमा चिनिँदै आएको छ, जहाँ विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी सिकाइलाई जीवनसँग जोड्ने अनुभवात्मक र सिर्जनात्मक शिक्षा प्रवाहमा अथक र अनवरत रुपमा लागि परेको छ ।

यस किसिमका कार्यक्रमहरूले विद्यालय, अभिभावक र विद्यार्थीबीचको सहकार्यलाई थप मजबुत बनाउँदै गुणस्तरीय शिक्षातर्फ नयाँ दिशा प्रदान गर्ने विश्वास गरिएको छ ।

विद्यालयका सम्पूर्ण शिक्षककर्मचारीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रमको प्राचार्य सुषमा रेग्मीज्यूले सहजीकरण गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation