मसुरिया २३ चैत । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सेवा प्रवाहलाई नागरिकमैत्री, पारदर्शी र प्रभावकारी बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
सोमबार गाउँपालिकामा आयोजित सेवा प्रवाह सुधार सम्बन्धी प्रभावकारी व्यवस्थापन तथा सञ्चालन विषयक छलफल कार्यक्रममा अध्यक्ष विष्टले नागरिकको अपेक्षा अनुसार छिटो, सरल र गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सेवाग्राहीलाई अनावश्यक झन्झट, ढिलासुस्ती तथा प्रक्रियागत जटिलता नहुने गरी काम गर्न विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सेवा प्रवाह सुधारका लागि कर्मचारीबीच समन्वय, अनुशासन र कार्यसम्पादन प्रभावकारी हुनुपर्ने बताउनुभयो । उहाँले प्रत्येक शाखाले आफ्नो जिम्मेवारी स्पष्ट रूपमा बुझेर समयमै सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै सेवाग्राहीको सन्तुष्टि नै स्थानीय तहको सफलता मापनको प्रमुख आधार हुने उल्लेख गर्नुभयो । साथै, सेवा प्रक्रियामा देखिएका समस्याहरूलाई तत्काल समाधान गर्दै आवश्यक सुधारका उपाय अवलम्बन गरिने जानकारी दिनुभयो ।
छलफल कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलापति चाैधरी,विभिन्न शाखाका शाखा प्रमुखहरू तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो । सो अवसरमा शाखा प्रमुखहरूले आ–आफ्नो शाखाबाट हालसम्म भएका कार्यप्रगतिबारे जानकारी गराएका थिए ।
गाउँपालिकाले आगामी दिनमा सेवा प्रवाहलाई अझ सहज, छिटो र नागरिकमैत्री बनाउन नीतिगत तथा व्यवस्थापकीय सुधारका थप कदम चाल्ने जनाएको छ ।











