शनिबार, बैशाख १२, २०८३

पोख्रेल वंशज कल्याणकारी संस्थाको १९औँ वार्षिक साधारण सभा भालुवाङमा सम्पन्न

भालुवाङ १२ बैशाख । पोख्रेल वंशज कल्याणकारी संस्था (यदुपति) को १९औँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका–१, भालुवाङमा सम्पन्न भएको छ ।

संस्थाका केन्द्रीय अध्यक्ष आत्मराम पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन उहाँले पानसमा बत्ती बालेर गर्नुभएको थियो । केन्द्रीय उपाध्यक्ष नारायण प्रसाद पोख्रेलले अतिथिहरूलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष सीता पोखरेलले वार्षिक आय–व्यय विवरण प्रस्तुत गर्नुभयो भने सचिव कमलराज पोखरेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा विभिन्न अतिथिहरूले शुभकामना मन्तव्य राख्दै संस्थाको एकता, सक्रियता र निरन्तरतामा जोड दिएका थिए ।

समाजसेवी तथा बुद्धिजीवी जगत प्रसाद पोखरेलले संस्थालाई दिगो रूपमा अघि बढाउन सबैले हातेमालो गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमका क्रममा ज्येष्ठ नागरिक जुगलाल पोख्रेल, अमृता पोखरेल र माधवा पोखरेललाई खादा, माला तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । त्यसैगरी लेखा संयोजक तथा सदस्यहरू तथा वंशावली लेखन समितिका पदाधिकारीहरूलाई पनि सम्मान गरिएको थियो ।

पोख्रेल वंशजहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा वंशावलीसँग सम्बन्धित व्यक्तिहरूको पनि व्यापक सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव कमलराज पोखरेलले गर्नुभएको थियो भने सभापति आत्मराम पोख्रेलले समापन गर्नुभएको थियो ।

कार्यक्रम भालुवाङ, दाङमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation