देउखुरी । राप्ती उपत्यका देउखुरी मौरीघाट स्थित चैतन्य पाठशालाको आयोजनामा शनिबार अभिभावक अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
वर्तमान सन्दर्भमा शैक्षिक परिपाटी बारे छाएको अन्योललता चिर्न उक्त कार्यक्रम गरेको विद्यालयले जनाएको छ ।
नयाँ शैक्षिक सत्रको सुरुवातको पूर्वसन्ध्यामा भएको उक्त कार्यक्रममा एकीकृत विषयगत सिकाइ र निरन्तर मूल्याङ्कनसँगै विविध विषयमा चर्चासँगै प्रकाश पारिएको थियो ।
पाठशालाको सिकाइ दर्शन, निरन्तर मूल्याङ्कनका फाइदासँगै यसका मापन उपकरण, विद्यालयको लक्ष्य र दर्शन, अभिभावकको भूमिका र पाठशालको प्रतिबद्धता बारे संस्थाका प्रबन्ध निर्देशक डा.जीवराज आचार्यले प्रकाश पार्नुभएको थियो । तालिम प्राप्त,उच्च शैक्षिक योग्यता हाँसिल गरेका शिक्षकशिक्षिका, सुविधासम्पन्न भौतिक पूर्वाधारसँगै कारखाना र डिजि पाठ्यक्रम लागु गरेको विद्यालयले यस क्षेत्रमा छोटो समयमै आफूलाई अब्बल शैक्षिक संस्थाका रुपमा आफूलाई स्थापित गरिसकेको छ ।
परम्परागत घोकन्ते विद्याभन्दा पनि गरेर सिक्ने र यसैका आधारमा विद्यार्थीको निरन्तर मूल्याङ्कनका कारण विद्यार्थीको आधार बलियो बन्दै गएको पाठशालाले जनाएको छ । वर्तमान सरकारको अवधारणा अनुरुप नै विद्यालय सञ्चालन गरिने र आफूहरुले लिने शैक्षिक शुल्क समेत पारदर्शीसँगै स्थानीय निकायको समन्वयमा तय भएको संस्थाले प्रष्ट्याएको छ । ‘क’ वर्गमा स्थान सुरक्षित गर्न सफल विद्यालयमा ७० जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् ।
विद्यालयकी प्राचार्य सुष्मा रेग्मीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । विद्यालयको सभाहलमा दुई सत्रमा चलेको कार्यक्रममा अभिभावकहरुले सुझाव समेत दिएका थिए ।











