बिहिबार, बैशाख १७, २०८३

राप्ती गाउँपालिकामा पोषणमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

मसुरिया १७ बैशाख । दाङको राप्ती गाउँपालिकामा पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय पोषण तथा खाद्य निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय पोषण तथा खाद्य निर्देशक समितिका संयोजक प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोषण सुधार, खाद्य सुरक्षा तथा दिगो विकाससँग सम्बन्धित विविध विषयमा छलफल तथा अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रममा विशेषगरी बालबालिका, गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्थालाई सुधार गर्ने, कुपोषण न्यूनीकरण गर्ने तथा स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोगमार्फत पोषणमैत्री वातावरण निर्माण गर्ने विषयमा जोड दिइएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रकाश विष्टले कुपोषण समस्या समाधानका लागि स्थानीय तहको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन गर्न सबै शाखा, वडा तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । “स्वस्थ र समृद्ध समाज निर्माणका लागि पोषणमा लगानी अनिवार्य छ,” उहाँले भन्नुभयो, “समुदायस्तरमै सचेतना अभिवृद्धि गर्दै व्यवहार परिवर्तन गर्न सकिए मात्र दीर्घकालीन उपलब्धि हासिल गर्न सकिन्छ।” साथै उहाँले कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रलाई एकीकृत रूपमा अघि बढाउँदै पोषण सुधारका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा बहुक्षेत्रीय पोषण खाेप संयोजक नरेन्द्र विकले बहुक्षेत्रीय पोषणको शासकीय संरचना, संयन्त्र, कार्यान्वयनको ढाँचा तथा अवधारणाबारे विस्तृत प्रस्तुति दिनुभएको थियो। उहाँले प्रदेश, जिल्ला र पालिका तहमा पोषणको वर्तमान अवस्था, चुनौती र अवसरहरूको विश्लेषण गर्दै समन्वयात्मक ढंगले कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । साथै बहुक्षेत्रीय दृष्टिकोण अपनाएर कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ जस्ता क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी वक्ताहरूले पोषणसम्बन्धी कार्यक्रमहरूलाई प्रभावकारी बनाउन अन्तरसमन्वय आवश्यक रहेको धारणा राख्दै समुदायमा लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

अभिमुखीकरण कार्यक्रममा पालिकाका उपाध्यक्ष कमलापति चाैधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडा अध्यक्षहरू, स्वास्थ्य, कृषि तथा शिक्षा शाखाका प्रतिनिधि,बेस संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमकाे सहजीकरण पालिकाका पाेषण फाेकल पर्सन धन बहादुर बुढा क्षेत्रीले गर्नु भएको थियो ।

कार्यक्रमले स्थानीय तहमा पोषणमैत्री नीति तथा कार्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी र सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation