भालुबाङ २४ वैशाख । दाङको राप्ती गाउँपालिकाले विद्यार्थीहरुलाई सीपमूलक तथा उद्यमशील बनाउने उद्देश्यले अचार बनाउने तालिम प्रदान गरेको छ ।
गाउँपालिकाको “युवा तथा महिला उद्यमशीलतामा पहिला” कार्यक्रम अन्तर्गत ऐरावती आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई पाँच दिने अचार बनाउने सीप विकास तालिम प्रदान गरेको हो ।
पढाइसँगै सीप जोड्दै विद्यार्थीहरुलाई आत्मनिर्भर तथा स्वरोजगारतर्फ प्रेरित गर्ने लक्ष्यका साथ स्थानीय उत्पादनबाट विभिन्न प्रकारका अचार बनाउन सिकाइएको गाउँपालिकाले जनाएको छ । तालिममा २१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रशिक्षक सुस्मिता थापा मगरले मिक्स अचार, सिद्रा माछा, लसुन, चिकेन लगायत १४ प्रकारका अचार बनाउन प्रशिक्षण दिनुभएको थियो ।
बिहीबार सम्पन्न तालिम समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । उहाँले यस्ता तालिमले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानसँगै आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले स्थानीय स्रोत साधनको उपयोग गर्दै उद्यमशीलता विकास गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख बिक्रान्त ज्ञवाली, स्ववियु सभापति बिनोद कुमार सोनी, प्रशिक्षक सुस्मिता थापा मगर तथा सहभागी विद्यार्थीहरुले तालिम उपयोगी र प्रेरणादायी रहेको बताएका थिए ।
समापन कार्यक्रमको सहजीकरण उद्यम विकास शाखा प्रमुख बिनिता चौधरीले गर्नुभएको थियो ।











