सोमवार, कार्तिक २५, २०८२

राप्ती प्रेस मञ्चले इच्छुकको शालिकमा मल्यार्णपण सहित प्रतियोगितात्मक कार्यक्रम गरि स्मृति दिवस मनायो

भालुवाङ १३ जेठ ।  राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले महान शहिद कृष्णसेन इच्छुकको २२ औँ स्मृति दिवस मनाएको छ ।

मञ्चले आज राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक बजारमा रहेको सेनको शालिकमा मल्यार्णपण तथा राप्ती गाउँपालिकाको सभाहलमा कृष्णसेनको विषयमा वक्तृत्वकला, निबन्ध र अन्तरक्रिया कार्यक्रम गरि स्मृति मनाएको हो ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले सेनले देखाएको बाटोमा हिड्न सुझाव दिएका थिए ।  सेनले जस्तै राष्ट्रका लागि जस्तो सुकै अवस्थामा पनि पत्रकारहरूले कलम चलाउन डराउन नहुने बताएका थिए । त्यस्तै वक्ताहरूले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा रहेको शालिकको पुख्र्यौली घरलाई सहिद पार्कको रूपमा विकास गर्न सरकारले ध्यान दिनुपर्ने सुझाव समेत दिएका थिए ।

सो अवसरमा आधारभुत विद्यालय तर्फ नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा कृष्णसेन इच्छुकको योगदान विषयक वक्तृत्वकला प्रतियोगितामा लिटिल एन्जल्स स्कुल भालुवाङकी सुरक्षा गिरी प्रथम, गोरखा आइडियल स्कुल लालमटियाकी विज्ञमाया विक दोस्रो र शंकर माध्यमिक विद्यालय पिपरीकी सर्मिला पोख्रेलले तेस्रो स्थान हासिल गरेका थिए ।

त्यस्तै माध्यमिक तह तर्फ कृष्णसेन इच्छुक बहुआयामिक व्यक्तित्व विषय निबन्ध प्रतियोगितामा गोल्डेन फ्युचर इङ्लिस बोर्डिङ स्कुल बिजौरीका अनु चौधरी प्रथम, सिरिन भ्याली पब्लिक स्कुल माैरीघाटकी जेनिसा शाही दोस्रो र दिपज्योति सेकेण्डरी स्कुल सिसहनियाँकी गरिमा चाैधरीले तेस्रो स्थान हासिल गरेका थिए । विजेताहरूलाई नगद, शैक्षिक सामाग्री र प्रमाणपत्र सहितको पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ कवि अहम्मद अब्दुल रहुफ, नागरिक समाज देउखुरीका पुर्व संयोजक दामोदर भण्डारी, राप्ती प्रेस मञ्चका प्रमुख संरक्षक महेश रिजाल, ऐरावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विक्रान्त ज्ञवाली, पब्लिक एजुकेशन एकेडेमीका प्रिन्सिपल चम्पकराज कार्की लगायतका वक्ताहरूले बोलेका थिए ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यम आवद्व पत्रकारहरू तथा कम्युनिस्ट नेता कार्यकर्ताहरूको समेत सहभागीता रहेको थियो । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन  मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation