राप्ती गाउँपालिका २ कठाहामा २ हजार ७ सय बढी बिरुवा राेपियाे

भालुबाङ १९ असार । दाङको राप्ती गाउँपालिका २ कठाहामा दुई हजार सात सय बढी बिरुवा राेपियाे छ ।

कठाहा सार्वजनिक वन उपभोक्त समूहकाे आयोजना तथा राप्ती गाउँपालिकाकाे सहयोगमा राप्ती नदिकाे तटिय क्षेत्रमा रहेको करिब ५ हेक्टर सार्वजनिक जग्गामा मंगलबार उक्त बिरुवा राेपिएकाे गाउँपालिकाका वन प्राविधिक विपिन भुसालले जानकारी दिनुभयो ।

राप्ती गाउँपालिकाकाे वन विकास कार्यविधि २०८१ अनुसार साे क्षेत्रमा आँप, लिची, अम्बा, अमला, बेल, निम, बडहर, कटहर, मौवा, चिउरी, लाकुरी, कल्की, जामुन, सित्तलचिनी, गुल्मोहर, निलमर लगायत विभिन्न प्रजातिका २ हजार ७ सय बढी बिरुवाहरु रोपिएको प्राविधिक भुसालले जानकारी दिनुभयो ।

राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरीले वडामा रहेका सार्वजनिक जग्गालाई हरियाली बनाउनुका साथै त्यसबाट लाभ लिने उद्देश्यले बिरुवा रोपिएको बताउनुभयो ।

त्यस्तै अध्यक्ष चाैधरीले वातावरण संरक्षण र दिगो विकासमा सबैको सामूहिक सहभागीता हुनुपर्ने बताउनुभयो ।

सार्वजनिक वन उपभोक्त समूहका अध्यक्ष अशाेक चाैधरीले बिरुवा संरक्षणकाे पाटाे उपभोक्ता समूहको भएको बताउदै वनबाट उपभोक्तहरुकाे जीवनस्तरमा समेत परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।

वृक्षारोपण कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी, जग्गा एकीकरण आयोजनाका अध्यक्ष श्यामेस चाैधरी, राप्ती गाउँपालिका कार्यपालिका सदस्य रण बहादुर पुजाली, सार्वजनिक वन उपभोक्त समूहका अध्यक्ष अशाेक चाैधरी तथा पदाधिकारी लगायत उपभोक्तहरुकाे उल्लेख्य सहभागिता रहेको थियो ।

उक्त क्षेत्रमा रहेको करिब २० हेक्टर जग्गालाई सार्वजनिक वन बनाउने उदेश्यले गत महिना विभिन्न प्रजातिका १ हजार ८ सय बिरुवा राेपी सकिएको छ भने अन्य करिब २० हजार बिरुवा राेप्ने तयारी समेत गरिएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation