राप्तिमा राेजगारदाता र सराेकारवालाहरुसँग राेजगारी सम्बन्धी सम्वाद कार्यक्रम

भालुबाङ ३१ असार ।  दाङको राप्ती गाउँपालिकामा राेजगारदाता र सराेकारवालाहरुसँग राेजगारी सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

राप्ती गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा राेजगार क्षेत्रकाे अवस्था, जनशक्ति र राेजगारी सिर्जना तथा प्रवर्द्धन गर्न स्थानीय सरकारकाे भूमिकाकाे लगायतको विषयमा  राेजगारदाता तथा सराेकारवालाहरुसँग छुट्टाछुट्टै सम्वाद कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा उद्योगी व्यवसायीले आफ्ना लागि चाहिने कामदारलाई गाउँपालिकाले तालिम दिई दक्ष बनाए उनीहरुलाई आफूहरूले राेजगारी दिन सक्ने बताएका छन् । पालिका क्षेत्रका कतिपय उद्योगहरुमा अझै पनि  छिमेकी मुलुक भारतबाट दक्ष जनशक्ति ल्याउनु पर्ने बाध्यता रहेको भन्दै उनीहरुले स्थानीय  नागरिकलाई उद्योगधन्दा वा व्यवसायको आवश्यकताका आधारमा सीप तथा दक्षता अभिवृद्धि सम्बन्धी तालिम दिन स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

“हामीलाई आवश्यक परेको जनशक्तिका बारेमा हामी भन्छौं, गाउँपालिकाले त्यसै अनुसारको तालिमका लागि सहजीकरण गर्नुपर्यो,” उद्योगी ब्यवसायीले भने- “त्यसो भएमा हामीहरुलाई दक्ष जनशक्ति बाहिर बाट ल्याउनु पर्दैन ।”

त्यस्तै उनीहरुले उद्योगी व्यावसायीहरुलाई प्रवर्द्धन गर्नका लागि लगानीको वातावरण सिर्जना सँगै उत्पादित सामाग्रीहरुकाे बजारीकरणमा राज्यले सहयोग गर्नुपर्ने बताएका थिए । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले निजी क्षेत्रका राेजगारदाताहरु सँग सहकार्य गरेर अघि बढ्ने बताउँदै रोजगारी प्रवर्द्धन गर्ने गरी हातेमालो गर्न आह्वान गर्नुभयो ।

त्यस्तै अध्यक्ष विष्टले आवश्यकता पहिचान गरेर आगामी दिनमा उद्योग व्यावसायहरुलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा स्थानीय सरकार अग्रसर हुने बताउनुभयो । “उद्योगधन्दा, होटल, व्यवसायले पनि दक्ष जनशक्ति पाउन् र बेरोजगारी घटाउने हाम्रो लक्ष्य पनि पूर्ति हुँदै जाओस भन्ने हाम्रो ध्येय हो,” उहाँले भन्नुभयो- “आउनुहोस् हातेमालो गरौं ।”

त्यस्तै पालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले बेरोजगार युवा तथा महिलाहरुलाई उद्योगी बनाउने उदेश्य गाउँपालिकाले विभिन्न किसिमको तालिम सञ्चालन गरेको बताउनुभयो ।

रोजगारदाता, उद्योग व्यवसायहरुकाे प्रवर्द्धन, बेरोजगार ब्यक्तिहरुको दिर्घकालीन रोजगारी र पालिकाको समृद्धिमा सहयोग पुग्ने अपेक्षाका साथ कार्यक्रम गरिएको रोजगार सेवा केन्द्र प्रमुख मुमाराम भुसालले बताउनुभयो ।

त्यस क्रममा विभिन्न उद्योग, व्यवसाय, होटल सञ्चालकहरुले आफूहरुलाई चाहिएको जनशक्ति, प्रकृति र संख्याबारे समेत गाउँपालिकालाई जानकारी गराएको रोजगार सहायक सीता पाैडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, शाखा प्रमुख विश्वास विक, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सका अध्यक्ष, विभिन्न उद्योग व्यावसायीहरु, पालिकाबाट विभिन्न तालिम लिइ व्यवसाय सञ्चालन गर्दै आउनुभएका व्यवसायीहरु लगायतकाे सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation