देउवाविरुद्ध चुनावमा उठेका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने

काठमाडौं । रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टीले डडेलधुरामा सागर ढकाललाई समर्थन गर्ने भएको छ । डडेलधुराबाट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका ढकाललाई निशर्त सघाउने राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गरेको हो ।

राजनीतिलाई आजीवन पेसा बनाएकाहरू, पटक पटक परीक्षण भइसकेकाहरूका बदलामा नयाँ र योग्यलाई राजनीतिमा प्रवेश गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सधैँ सकारात्मक भएको भन्दै पार्टीले एक विज्ञप्ति जारी गरी यस्तो निर्णय गरेको हो । स्वतन्त्र पार्टीले पुराना नेतालाई बिदा गर्ने लक्ष्य आफ्नो प्रमुख लक्ष्य भएको पनि बताएको छ ।

स्वतन्त्र पार्टीले भनेको छ, ‘राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरूको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिनेछ। यस्तोमा बहालवाला प्रधानमन्त्रीका विरुद्धमा निर्वाचनमा होमिनु भएका सागर ढकालको कदमको प्रशंसा गर्दै डडेलधुरामा सिरिन्ज (सुई) निर्वाचन चिन्ह लिएका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले निशर्त समर्थन गर्दछ ।’

साथै स्वतन्त्र पार्टीले चितवन, काठमाडौं- ४ लगायतका क्षेत्रमा तालमेल वा गठबन्धन गरेर उम्मेदवारी फिर्ता गरेको भन्ने बारेमा आएका समाचारहरूको खण्डन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि निर्वाचन क्षेत्रमा कुनै किसिमको तालमेल नगरेको र नगर्ने पनि जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation