Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तीका प्राविधिक कर्मचारीलाई भवन निर्माण मापदण्ड तथा भवन संहिता सम्बन्धी अभिमुखीकरण

भालुबाङ २१ असाेज । दाङको राप्ती गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूलाई भवन निर्माण मापदण्ड तथा भवन संहिता सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आइतबार प्रदान गरिएको छ ।

राप्ती गाउँपालिका पूर्वाधार विकास तथा भवन नियमन शाखाकाे आयोजनामा साे अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको हाे ।

अभिमुखीकरण कार्यक्रममा भवन निर्माणका मापदण्ड, भवन संहिता र अन्य कानुनी प्रावधानहरूको बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियोे ।

त्यस्तै कार्यक्रममा गाउँपालिकामा भवन निर्माण गर्दा आउने समस्याहरू र तिनको समाधानका उपायहरूका बारेमा समेत छलफल गरिएको बताइएको छ ।

राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले सुरक्षित र मापदण्डअनुसारका भवन निर्माणमा प्राविधिक कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै यो अभिमुखीकरण कार्यक्रमले उनीहरूलाई थप दक्ष र सक्षम बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयाे ।

कार्यक्रममा प्रदेश राजधानी कार्यान्वयन इकाईका इन्जिनियर विश्व रेग्मी र राप्ती गाउँपालिका भाैतिक पूर्वाधार शाखा प्रमुख अशोक बेल्वासेले भवन संहिता र मापदण्डको पालना नगर्दा हुन सक्ने सम्भावित जोखिमहरूबारेमा जानकारी गराउँदै भवन निर्माणका नवीनतम प्रविधिहरूको प्रयोग लगायत अन्य विभिन्न विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

गाउँपालिकामा कार्यरत इन्जिनियर, ओभरसियर र अन्य प्राविधिक कर्मचारीहरूको सहभागिता रहेको कार्यक्रमकाे सहजीकरण गाउँपालिकाकी असिस्टेन्ट सव इन्जिनियर बिमला भट्टराईले गर्नु भएको थियोे ।

यस कार्यक्रमले गाउँपालिकामा भवन निर्माण कार्यलाई अझ व्यवस्थित, सुरक्षित र दिगो बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation