देउखुरी ५ कार्तिक। राप्ती गाउँपालिका अन्तरगत राप्ती उद्योग वाणिज्य संघको कार्य क्षेत्र भित्र मंगलबार बजार बन्द हुने भएको छ ।
दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोककी ९ वर्षिय बलात्कृत बालिकाको न्यायको माग राख्दै मंगलबार बजार बन्द गर्ने निर्णय गरेको राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष तथा संघर्ष समितिका संयोजक सुरज खड्काले जानकारी दिए । संघर्ष समितिको बैठकले मंगलबार १२ बजेदेखि दिउँसो ३ बजेसम्म पुल्चोकमा आन्दोलन गर्ने समेत घोषण गरेको छ ।
संघर्ष समितिका अध्यक्ष सुरज खड्काको अध्यक्षतामा बसेको बैठकले बलात्कृत बालिकाको न्यायका लागि भोली मंगलबार आन्दोलनको घोषणा गर्दै सत्यतथ्य छानवीन गरि दोषी पत्ता लगाई पिडित बालिकालाई न्याय दिन चेतावनी दिएको छ । भोली हुने आन्दोलनको कार्यक्रममा राप्तीका सम्पूर्ण संघ संस्था, महिला समुह, व्यवसायीहरुलाई सामेल हुने समेत संघर्ष समितिले अनुरोध गरेको छ ।
त्यसै संघर्ष समितिले आज सोमबार दिउँसो २ बजेदेखि ३ बजेसम्म एक घण्टा पुल्चोकमा सडक अवरुद्ध समेत गरेको छ । गत असोज २४ गते साँझ भालुवाङ स्थित शसस्त्र प्रहरी क्याम्प नजिकै रहेको लिंगे पुल खेल्न गएकी राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा डेरा गरि बस्ने ९ वर्षिय बालिका बलात्कृत भएकी थिइन् । घटना घटेको १२ दिन भइसक्दा समेत प्रहरीले घटनामा संलग्न दोषीलाई पक्राउ गर्न नसकेपछि संघर्ष समितिले आन्दोलन सुरु गरेको छ ।