भालुबाङ ७ कार्तिक । दाङको राप्ती गाउँपालिकाले असोज २४ गते वडा नं.१ भालुवाङ स्थित सशस्त्र प्रहरी क्याम्प नजिकै पिङ खेल्न गएकी ८ बर्षीय बालिका माथि भएको बलात्कार घटना प्रति दु:ख व्यक्त गरेकाे छ ।
पालिकाका अध्यक्ष प्रकाश विष्टले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बालिका माथि भएको उक्त घटना अमानवीय, क्रूर र समाजको संवेदनशीलतालाई चुनौती दिने जघन्य अपराध भएको उल्लेख गर्नुभएको छ ।
“मानवता र बालबालिकाको सुरक्षाको सम्मान गर्नुपर्ने मूलभूत कर्तव्यलाई हदैसम्मको लापरवाहीमा पु-याएको छ ।” – विज्ञप्तिमा उल्लेख गरिएको छ,”लामो समय सम्म पनि घटनाको सत्य तथ्य बाहिर नआएको विषय प्रति स्थानीय सरकारको गम्भिर ध्यानाकर्षण भएको छ ।”
त्यस्तै विज्ञप्तिमा घटनाको विवरण प्रकाशित भएपछि निरन्तर रुपमा जनप्रतिनिधिहरु सहभागी भई समन्वय तथा सहकार्यमा रहेको व्यहोरा समेत उल्लेख्य गरिएको छ ।
पालिकाले बालबालिकाहरू सुरक्षित वातावरणमा हुर्किन, खेल्न, सिक्न र बाँच्न पाउनुपर्ने अधिकार माथि भएको यस प्रकारको घटना सह्य नहुने उल्लेख गर्दै पीडित बालिका र उनको परिवारप्रति गहिरो सहानुभूति प्रकट गरेको छ ।
त्यस्तै पालिकाले दोषीहरूलाई कानूनी कठघरामा ल्याएर कडा भन्दा कडा सजाय दिलाउन विज्ञप्ति मार्फत सम्बन्धित निकाय सँग जोडदार माग गरेकाे छ ।
यस प्रकारका जघन्य अपराधको अन्त्यका लागि पालिका कटिबद्ध रहेको उल्लेख गर्दै पालिकाले सम्पूर्ण नागरिकलाई यस्तो अपराधविरुद्ध एकताबद्ध भएर आवाज उठाउन, पीडितको संरक्षणमा सहयोग गर्न र समाजमा यस्ता घटनाको पुनरावृत्ति रोक्न आग्रह गरेको छ ।
त्यस्तै पालिकाले घटनाको सत्य तथ्य छानविनका लागि नागरिकस्तरबाट स्वतस्फुर्त भएको शान्तिपुर्ण दवावमूलक कार्यक्रमलाई संयमित र अनुसन्धानमैत्री बनाउनका लागि सरोकारवाला सम्पुर्णमा हार्दिक अपिल समेत गरेको छ ।