![](https://dangalionlinekhabar.com/wp-content/uploads/2024/11/20241108_164456.jpg)
काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले सिनेमा हलमा पाएको शो संख्याको आधारमा नयाँ कीर्तिमान बनाएको छ ।
सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले अप्रत्यासित रुपमा दर्शकलाई सिनेमा हलसम्म आकर्षित गरिरहेको छ भने फिल्म हेरेका दर्शकको मन जितिरहेको छ ।
गत कार्तिक १५ गतेदेखि देशभर एकैसाथ प्रदर्शनमा आएको यो फिल्मले बिहीवार नेपालभरका सिनेमा हलमा तीन सय ८० भन्दा बढी ‘शो पाएको थियो । यसले नेपाली फिल्मको इतिहासमै एकैदिन सबैभन्दा धेरै शो पाउने नेपाली फिल्मको कीर्तिमानसमेत बनाएको फिल्मको निर्माण संस्था सेभेन सिजले जनाएको छ ।
बिहीवार काठमाडौं उपत्यकामा एक सय ८० तथा उपत्यका बाहिरका दुई सय गरी देशभरका ८९ हलमा तीन सय ८० भन्दा बढी शो पाएर फिल्म उत्साहजनक रूपमा प्रदर्शन भइरहेको फिल्ममा मुख्य भूमिकामा प्रस्तुत भएका कलाकार विजय बरालले जानकारी दिएका छन् ।
बिहीवारसम्म फिल्मले बक्स अफिसमा प्रदर्शनमा आएको एक हप्तामै ८ करोड २५ लाख रुपैयाँ सङ्कलन गरेको प्रारम्भिक विवरण प्राप्त भएको पनि अभिनेता बरालको भनाइ छ ।
यो फिल्ममा विजय बराल मुख्य भूमिकामा छन् भने प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वयम केसी, जान्वी पौडेल आदि कलाकारले पनि यो फिल्ममा अभिनय गरेका छन् ।
सेभेन सिज सिनेमा तथा बाँसुरी फिल्मस्को प्रस्तुति रहेको यो फिल्मका निर्माता विनोद पौडेल तथा प्याट्रिक सुवेदी तथा कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।
यो फिल्ममा गन्धर्व परिवारको दुःख र संघर्षको कथालाई कारुणीक शैलीमा चित्रण गरिएको छ ।