भालुबाङ २६ कार्तिक । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा निर्माण गरिएको सामुदायिक बहुउद्देश्यीय भवनको स्वामित्व राप्ती गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको मझौला र साना सहरहरुमा खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य पहलमार्फत कोभिड-१९ रोकथाम र नियन्त्रण आयोजनाले निर्माण गरेको साे भवनकाे स्वामित्व पत्र आयोजना व्यवस्थापन कार्यालयका प्रतिनिधि पुनम चाैधरीले गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई हस्तान्तरण गर्नुभएको हो ।
स्वामित्व ग्रहण गर्दै अध्यक्ष विष्टले भवनको उचित सञ्चालन र व्यवस्थापनमा पालिका प्रतिबद्ध रहेको बताउँदै यसले स्थानीय समुदायको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले राप्तीमा पहिलोपटक निर्माण गरिएको यस्तो भवनले विपन्न समुदायलाई विशेष फाइदा पुर्याउने बताउनुभयो ।
एशियाली विकास बैंक तथा जेएफपीआरको अनुदान सहयोगमा निर्मित उक्त भवनमा महिला–पुरुष अपाङ्गमैत्री शौचालय, दुई ठूला कोठा, प्रशासनिक कोठा, नर्सिङ र स्टोरका साथै १६ शैयाका अक्सिजन सिलिन्डरसहितको आइसोलेसन वार्डको सुविधा रहेको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभयो ।
उक्त भवन विपद् पूर्व तयारी संरचनाको रूपमा कोभिड-१९ लगायत इबोला, बाढी, र पहिरो जस्ता विपद्हरूको तयारीस्वरूप निर्माण गरिएको स्वास्थ्य शाखा प्रमुख राउतले बताउनुभयो । उहाँले कोरोना महामारीको समयमा पूर्व तयारीको अभावका कारण धेरैले ज्यान गुमाउनु परेको उदाहरण दिँदै यो भवनमा सरुवा रोगहरूका लागि विशेष व्यवस्था गरिएको जानकारी दिनुभयो ।
२०७९ पुस १ मा निर्माण थालनी भएको भवन गत चैत २ मा सम्पन्न भएको हो। भवन तथा सामग्री लागत गरी करिब दुई करोड रुपैयाँमा निर्माण सम्पन्न गरिएको आयोजनाले जनाएको छ। कुल क्षेत्रफल ८७५ वर्गमिटर रहेको उक्त स्थलमा भवनले ३१७ वर्गमिटर क्षेत्रफल ओगटेको छ ।